फाइल तस्वीरः नेसपाको बैठक ।


काठमाडौँ — पार्टी एकताको विषयलाई लिएर उत्पन्न भएको विवाद समाधान गर्न नेपाल समाजवादी पार्टीको बैठक सुरुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्ने विषयमा नेसपामा लामो समयदेखि विवाद चुलिंदै आएकोमा त्यसलाई समाधान गरेर अघिबढ्न बैठक बसेको हो ।

माओवादी केन्द्रसँग पार्टी एकता गरेर जाने विषयमा नेसपाका अध्यक्ष डा.भट्टराई र अर्का अध्यक्ष महेन्द्र राय यादवबीच विवाद भएको थियो । दुई अध्यक्षबीचको टकरावले नेसपा फुटको सङ्घारमा पुगेको थियो । केही समयका लागि नेसपा फुट्नबाट जोगिएको छ ।

शनिबार केन्द्रीय समिति बैठक सुरु हुनुअघि दुई अध्यक्षसहित पाँच जना पदाधिकारीको बैठकमा आगामी २०८१ साल जेठसम्म नेसपाको महाधिवेशन रोक्न नेताहरु सहमत भएका छन् । नेसपाले त्यसअघि माओवादी केन्द्रसँग एकता प्रक्रियालाई अघि बढाउने निर्णय भएको छ । केन्द्रीय समिति बैठकअघि अध्यक्षद्वय भट्टराई र यादव, सह–अध्यक्ष गङ्गानारायण श्रेष्ठ, महासचिव रमेशप्रसाद यादव सहित केही केन्द्रीय कार्यकारिणी सदस्यहरूको बैठक बसेर महाधिवेशन रोक्न सहमति जुटेको छ ।

बैठकले हाल निर्माण भइरहेको प्रस्तावित मस्यौदा विधानलाई केन्द्रीय समिति बैठकले पारित गर्ने, पार्टीभित्र देखा परेको विवादलाई हल गरेर लैजाने सर्वसम्मत निर्णय गरेको छ । हिजो बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा पार्टी एकताको विषयमा चर्को विवाद उत्पन्न भएपछि बैठक स्थगित भएको थियो ।