उदयपुर सिमेन्ट उद्योग निरीक्षण गर्नुहुँदै प्रधानमन्त्री प्रचण्ड ।

उदयपुर — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुर सिमेन्ट उद्योगको निरीक्षण गर्नुभएको छ । उदयपुर पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले उदयपुरको त्रियुगा नगरपालिका वडा नं ६ जलजले स्थित उक्त उद्योगको प्लान्टलगायत महत्वपूर्ण संरचनाको अवलोकन गर्नुभएको हो ।

उद्योग निरीषणका क्रममामा प्रधानमन्त्रीलाई उद्योगका महाप्रबन्धक खगेन्द्रबहादुर बस्नेतले उद्योगको समग्र अवस्थाबारे जानकारी गराउनुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डले अब उद्योगलाई पुनर्संरचना गरेर चलाउन उद्योग व्यवस्थापनका अधिकारीहरुलाई निर्देशन दिनुभयो । प्रधानमन्त्रीले आफूले उद्योगको समस्यालाई गम्भीर रुपमा लिएको उल्लेख गर्दै उद्योगलाई दीर्घकालीनरुपमा सञ्चालन गर्न सरकार तयार रहेको बताउनुभयो ।

उद्योगको प्लान्टलगायत महत्वपूर्ण संरचनाको अवलोकनमा प्रधानमन्त्री प्रचण्ड ।

उदयपुर सिमेन्टर नेपाल सरकारद्वारा सञ्चालित सिमेन्ट उद्योग हो । नेपाल र जापान सरकारको संयुक्त लगानीमा तीन दशक अघि सो उद्योगको स्थापना भएको थियो ।

सरकारी स्वामित्वमा स्थापना भएका तीन वटा सिमेन्ट उद्योगमध्ये हेटौंडा सिमेन्ट चरम आर्थिक सङ्कटका कारण विगत पाँच महिनादेखि बन्द रहँदै आएको छ भने काठमाडौंको चोभारमा रहेको हिमाल सिमेन्ट कम्पनी स्थानान्तरण गर्ने बहानामा बन्द गरी दुई दशक अघि नै लिक्विडेशनमा पठाएर सो स्थानमा सुख्खा बन्दरगाह स्थापना गरिएको छ ।