फाइल तस्वीरः त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल ।


काठमाडौँ — नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्दले पदबाट राजीनामा दिनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा कार्यरत डीआईजी अर्जुन चन्दले हिजो शुक्रबार प्रहरी प्रधान कार्यालयमा आफ्नो राजीनामा पेश गर्नुभएको हो ।

डीआईजी चन्दले एक्कासी के कति कारणले राजीनामा दिनुभयो भन्ने यकिन नभए पनि उहाँले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिनुभएको छ । एक साता अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयमा कार्यरत अधिकृतलाई अध्यागमन कार्यालयभित्रै एक जना प्रहरीले हातपात गरेपछि उत्पन्न विवादको छानविन गर्न गठित समितिले गरेको सिफारसप्रति डीआईजी चन्द असन्तुष्ट देखिनुभएको बताइएको छ । सोही विषयलाई लिएर डीआईजी चन्दले पदबाट राजीनामा दिनुभएको बुझिएको छ ।

अध्यागमन कार्यालयमाा प्रहरीद्वारा भएको हातपातका संलग्न असईलाई निलम्बन र प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेललाई सचेत गराउन सिफारिस गरेको थियो । विमानस्थलको सुरक्षा कमाण्डको नेतृत्व सम्हाल्नुभएका डीआईजी चन्दले आन्तरिक बैठकमा कुटपिटमा संलग्न प्रहरी गलत नगरेको बताउँदै आएको स्रोतको भनाई छ । यो सानो विषयको असन्तुष्टिलाई लिएर मात्रै डीआईजी चन्द पदबाट राजीनामा दिनुभएको नभई अन्य कारण हुन सक्ने बताइन्छ ।