फाइल तस्वीर
ललितपुर — उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले खेलकुद क्षेत्रको विकासमा सबैले ध्यान दिनुपर्ने बताउनुभएको छ । नेपाल कराँते महासङ्घ जिल्ला प्रमुख डोजो ललितपुरद्वारा आज सातदोबाटोमा आयोजित तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगिताको उद्घघाटन समारोहमा उपप्रधानमन्त्री खड्काले तीन तहका सरकार मिलेर मुलुकको खेलकुदलाई प्रोत्साहित गर्नुपर्ने बताउनुभयो ।

रक्षामन्त्री खड्काले अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गरेर स्वर्ण पदक ल्याउने प्रतिभाशाली खेलाडी उत्पादन गर्नका लागि खेलकुद क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिनुभयो । “अन्तर्राष्ट्रियस्तरमा स्वर्णपदक हासिल गर्ने प्रतिभाशाली खेलाडी उत्पादन गर्नका लागि खेलाडीलाई खेलप्रति उत्साहित बनाउँदै प्रोत्साहन गर्नुपर्छ । खेलाडीलाई प्रोत्साहन गर्न, उनीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सक्षम बनाउन आगामी बजेट निर्माणका क्रममा खेलाडीको सेवासुविधामा ध्यान दिनेछौँ”, उपप्रधानमन्त्री खड्काले भन्नुभयो । उहाँले मुलुक र जनताप्रति समर्पित भएर सबैलाई मार्गनिर्देश गर्नुहुने सादगी राजनेता कृष्णप्रसाद भट्टराईको नाममा प्रतियोगिता सञ्चालन गरेकामा आयोजकलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।

उपप्रधानमन्त्री खड्काले २०५५/५६ मा खेलकदमन्त्री हुँदा रोकिएर रहेका पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गराएर खेलकुदका कार्यक्रमलाई नियमित गराएको स्मरण गर्नुभयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य मदनबहादुर अमात्यले खेलकुदले मानिसलाई स्वस्थ जीवन यापन गर्न सिकाउने बताउनुभयो । उहाँले नैतिकता, मूल्यमान्यता र आदर्शलाई अनुशरण गर्न सिकाउने व्यक्तित्वको नाममा प्रतियोगिता गरेकामा धन्यवाद व्यक्त गर्नुहुँदै सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य उदयशमशेर राणाले यस्ता प्रतियोगिताले खेलाडीको स्तरवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राख्नुभयो । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बाँनियाले राजनीतिमा धैर्यता तथा खेलकुदमा गतिशीलता र अनुशासन आवश्यक हुने भन्दै खेलाडीलाई अनुशासित भए निरन्तर खेल प्रदर्शन गर्न आग्रह गर्नुभयो ।

नेपाली कांग्रेस ललितपुरका सभापति जितेन्द्रकुमार श्रेष्ठले यस्ता प्रतियोगिता सञ्चालन गर्दा खेलकुद जगतबाट कृष्णप्रसाद भट्टराईको योगदानलाई चीरस्मरणीय बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राख्नुभयो ।