फाइल तस्वीर


काठमाडौँ — नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले व्यवसायी अरुण चौधरी र बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजितनारायणसिंह थापालाई पक्राउ गरेको छ । चौधरीलाई आज काठमाडौँको लैनचौर र थापालाई बत्तीसपुतलीबाट पक्राउ गरिएको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले व्यवसायी अरुण चौधरी र तत्कालीन अध्यक्ष थापालाई पक्राउ गरिएको बताउँदै, बाँकी जानकारी पछि सार्वजनिक गरिने बताउनुभएको छ ।

चीन सरकारको अनुदान सहयोगमा २०२० सालमा स्थापना भएको बाँसबारी छालाजुत्ता कारखाना निरन्तर घाटामा भएको देखाएर १० रोपनी च्याम्पियन फुटवेयरलाई विक्री गरिएको थियो । उक्त १० रोपनीमध्ये ६ रोपनी जग्गा सरकारी मूल्याङ्कनभन्दा कम दरमा विक्री भएको अनुसन्धानबाट खुलेको बताइएको छ । उक्त जग्गा प्रति रोपनी दुई लाख ५० हजार रुपैयाँका दरले ६ रोपनी र बाँकी ४ रोपनी जग्गा उक्त कारखानाको दुईहजार पाँचसय शेयर कित्ता शेयर पाउने गरी विक्री गरिएको अनुसन्धानबाट खुलेको छ ।

च्याम्पियन फुटवयरमा नेपालका उद्योगी घरानीया विनोध चौधरी, अरुण चौधरी र वसन्त चौधरी शेयर सदस्य रहेको उल्लेख छ । उक्त १० रोपनी जग्गामा चाँदवाग स्कुल सञ्चालन गरिएको छ ।

उक्त कारखानाको जग्गा विक्रीमा अनियमितता भएको भन्दै काठमाडौं महानगरपालिका वडा नं ३ र तात्कालीन वडाध्यक्ष सहित ४८ जना स्थानीयले उजुरी दर्ता गराएपछि नेपाल प्रहरीको केन्द्रीय अनुुसन्धान ब्यूरोले अनुसन्धान गर्दै आएको थियो । सोही अनुसन्धानपछि आज अरुण चौधरी, अजितनारायणसिंह थापा सहित तीन जनालाई पक्राउ गरिएको सिआईबीले जनाएको छ । अरुण चौधरीलाई थुनामा राख्न सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ ।