फाइल तस्वीर


काठमाडौँ —सरकारले नेपाल वायुसेवा निगमको व्यवस्थापन करारमा लैजाने बारे अध्ययन गर्न एक समिति गठन गरेको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा समिति गठन गरेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार निगमको व्यवस्थापनको जिम्मेवारी करारमा दिने सरकारको रणनीति अनुसार सरकारले क्षेत्रीको संयोजकत्वमा समिति गठन गरेको हो । निगमको खस्कँदो अवस्थालाई मध्यनजर गर्दै सरकारले निगमको व्यवस्थापनको जिम्मा करारमा दिनेबारे अध्ययन गर्न गठित समितिमा पर्यटन विभागका महानिर्देशक, अर्थ मन्त्रालयका प्रतिनिधि, नेपाल वायुसेवा निगमको अर्थ विभागका प्रमुख, र विज्ञको रुपमा टीकाराम राईलाई राखिएको छ । पाँच सदस्यीय उक्त समितिको कार्यावधि ४५ दिनको रहेको छ ।