फाइल तस्वीर
सिमकोट — छिमेकी जिल्ला बाजुरामा उत्पादन गरिएका डोको, नाम्लोलगायतका सामग्री हुम्ला आयात हुँदै आएका छन् । माथिल्लो हुम्ला सदरमुकाम सिमकोट आसपासका नागरिक हिउँदयाममा छिमेकी जिल्ला बाजुराका विभिन्न स्थानमा पुगी डोको खरिद गरेर यहाँ ल्याएर बिक्री गर्दछन् ।

हिउँदको समयमा काम नहुने सबै फुर्सदिला हुने हुँदा घरखर्च चलाउन बाजुरामा उत्पादन भएका डोको ल्याएर सदरमुकाम आसपासका गाउँमा बिक्री गर्ने चलन रहेको छ । टाढाको दूरी तीन दिन लगाएर बाजुरामा पुगी त्यहाँबाट सडक नभएको ठाउँमा पिठ्युमा बोकी र यातायात आवतजावत गर्ने ठाउँमा गाडीको भाडा तिरेर सदरमुकाम ल्याउने गरेको सिमकोट गाउँपालिका–७ चौगनफया गाउँका रमेश शाहीले बताउनुभयो । 

स्थानीय शाहीले भन्नुभयो, “बाजुराको बडिमालिका नगरपालिका–७ ढम्कनेमा उत्पादन गरिएका डोको हुम्लामा बिक्री गर्न खरिद गरी ल्याएका छौँ, अहिले सदरमुकाम आसपासका गाउँमा लिएर बिक्री भइरहेको छ ।” ढम्कनेबाट एक सय ५० डोको सिमकोट ल्याएको उहाँले बताउनुभयो । सिमकोट पुर्याइएका डोको यता बिक्री नभए चीनको ताक्लाकोट लैजानेसमेत शाहीको भनाइ थियो । 

हुम्लाबाट डोका ताक्लोट पुर्याएपछि त्यहाँ बिक्री हुने शाहीले बताउनुभयो । निगालोको चोयाबाट हातले उत्पादन गर्न सकिने परम्परागत डोकोको सिमकोटसम्म आइपुग्दा रु एक हजार आठ सयदेखि रु दुई हजारका दरले बिक्री भइरहेको शाहीले बताउनुभयो । ढम्कनेमा रु छ सयदेखि रु आठ सयसम्म पर्ने गरेको भए पनि हुम्लाको सिमकोटसम्म आउँदा गाडीभाडालगायतका खर्चले गर्दा महँगो मूल्यमा बिक्री गर्नुपरेको उहाँले बताउनुभयो । 

जङ्गलमा पाइने निगालोको चोयाबाट उत्पादन हुने डोको एकदेखि चार किलोग्रामसम्म हुने गरेका छन् । डोको बुन्ने सीप भएकालाई बुन्न सजिलो हुने गरेको भए पनि जङ्गलमा गएर निगालो सङ्कलन गर्न समय लाग्ने र दुःख हुने गरेको शाहीले बताउनुभयो । सिमकोट बजारस्थित एयरपोर्ट चोकमा डोको बिक्री गर्दै गरेका शाहीले भन्नुभयो, “आजभोलिको समयमा निगालो ल्याउन पनि डिभिजन वन कार्यालयमा गएर पुर्जी काट्ने र त्यसपछि मात्र निकासी गर्न पाउने कारणले समस्यासँगै दुःख थपिएको छ ।”

विगत केही समयदेखि निगालोका डोका, डाला, छुन्का, सुप्पा, खार्या, छाप्री, पाथो, थुन्कोलगायतका सामग्री खरिद गरेर आफ्नो मूल्यमा बिक्री गरी गुजारा गर्दै आएको शाहीले बताउनुभयो । बाजुराको बडिमालिका–७ स्थित ढम्कनेबाट बुढीनन्दा नगरपालिका, हिमाली गाउँपालिका, हुम्लाको ताँजकोट, अदानचुली गाउँपालिका हुँदै सर्केगाड गाउँपालिकाको गिउँसीसम्म गाडीमा र गिउसीदेखि खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका गाउँसम्म डुलाउँदै बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । 

गाउँमा अन्य आम्दानीको स्रोत फेला नपारेका ३४ वर्षका शाही अहिले सोही पेसामा रमाउन थालेका छन् । उहाँले अहिले दिनभरि पिठ्युँमा डोकाको भारी लिएर गाउँ चहार्ने आफ्नो दैनिकीजस्तो बन्दै गएको बताउनुभयो । गाउँमा जाँदा दिनमा चारदेखि सात जति डोको बिक्री गरेर रु १० देखि १५ हजारसम्मको आम्दानी हुने गरेको छ । उहाँका अनुसार खरिद र गाडीको ढुवानी जोड्दा फाइदा थोरै आउने गरेको छ ।

शाहीले आफैँले डोको बुनेर बेचे मनग्य फाइदा हुने बताउनुभयो । आफ्नो गाउँको जङ्गलमा निगालो नहुने र आफूलाई डोको बुन्ने सीपसमेत नभएकाले अर्काले बुनेको डोको भए पनि त्यहीँ खरिद गरेर बिक्री गर्ने गरेको उहाँको भनाइ छ । आजभोलि बजारमा प्लाष्टिकका डोको, डालो आकारका सामग्री आएकाले पनि यसको व्यापार घट्दो क्रममा रहेको उहाँ बताउनुहुन्छ ।