फाइल तस्वीर
सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ दोरिङ भिरमा जिप दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु भएको छ । बा२च ४४५० नम्बरको जिप दुर्घटना हुँदा अन्य पाँच जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सञ्जीवकुमार यादवले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा ३३ वर्षीय अब्गे र ७१ वर्षीया वाङ्मु रहेका छन् । दुवैजनाको घट्नास्थलमै ज्यान गएको हो । दुर्घटनामा घाइते हुनेमा चार भुटानी र एक नेपाली नागरिक रहेका प्रहरी निरीक्षक यादवले बताउनुभयो ।

घाइते हुनेमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ का चालक ४२ वर्षीय रामचन्द्र भण्डारी तथा भुटानी नागरिक ७४ वर्षीय हाइज, ४२ वर्षीया फुपा छिरिङ, ६५ वर्षीया गुची र ५६ वर्षीय फुँङ रहेका छन् । घाइतेलाई उपचारका लागि हेलिकप्टरमा काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।