काठमाडौँ — अख्तित्यार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपोत अधिकृत तथा हाल मधेस प्रदेशको उद्योग, पर्यटन वन तथा वातारण मन्त्रालयका शाखा अधिकृत (आठौं) मिन बहादुर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले भट्टराईउपर बिगो ४ करोड ४० लाख १५ हजार ९ सय २५ रुपैयाँ ८६ पैसा गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप पत्र दायर गरेको हो ।

भट्टराईले गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५४।०४।२६ देखि मिति २०७९।०२।३० गते सम्मको अवधिमा समग्र आय तथा व्ययको विश्लेषण गर्दा सो अवधिभरमा निजले ४ करोड ४० लाख १५ हजार ९२५ रुपैयाँ ८६ पैसा अवैध आम्दानी गरेको अख्तियारको ठहर छ ।

भट्टराईले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानूनी रुपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति कान्छी श्रीमती झुना कुमारी कठेतसमेतको नाममा जग्गा खरिद, सेयर खरिद, तथा बैंक खातामा रकम मौज्दात राखेको अनुसन्धानका क्रममा खुलेको आयोजले जनाएको छ ।

‘सो सिर्जित आयबाट निजको व्यय घटाउँदा हुन आउने रकम चार करोड उनन्तीस लाख पच्चीस हजार एक सय चालीस रुपैयाँ पाँच पैसा भएतापनि सो अवधिमा स्रोत नखुलेका अवधिका विभिन्न कट अफ मितिमा निजले गरेको खर्च तथा लगानी चार करोड चालीस लाख पन्ध्र हजार नौ सय पच्चीस रुपैयाँ छयासी पैसाको वैधानिक स्रोत नखुलेको देखिँदा निजको वैध आयको तुलनामा निजको खर्च एवं लगानी सहितको सम्पत्ति अमिल्दो र अस्वाभाविक एवं गैर कानुनी सम्पत्ति आर्जन गरेको पाइएको हुँदा निज मीन बहादुर भट्टराईले साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले बिगो र जरिवाना जफत गरी पाउन मागदाबी लिइएको छ,’ अख्तियारले जनाएको छ ।

यसैगरी भट्टराईले सार्वजनिक सेवाको पदमा रहेर गैर कानुनी रूपमा आर्जन गरेको श्रोत नखुल्ने सम्पत्ति कान्छी श्रीमती झुना कुमारी कठेतसमेतको नाममा लुकाएको पुष्टि हुन आएको अख्तियारको भनाइ छ । सोहीअनुसार कठेतसमेतलाई प्रतिवादी कायम गरी श्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको सम्पत्ति मध्येबाट बिगो जफत र जरिवाना गरी पाउन मागदाबी लिएर आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको जनाएको छ ।