फाइल तस्वीर
बाजुरा — नेपाली कांग्रेसकासह महामन्त्री तथा प्रतिनिधिसभाका सदस्य बद्रीप्रसाद पाण्डेले अर्थतन्त्र विकासमुखी नभएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले कोल्टीमा आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सहमहामन्त्री पाण्डेले पुँजीगत खर्चभन्दा अन्य खर्च बढी भएकाले विकासमुखी बजेट बन्न नसकेको जिकिर गर्नुभएको हो । पत्रकार भेटघाट कार्यक्रममा नेता पाण्डेले सरकारले ल्याएको भन्दा थोरै बजेट विकास–निर्माणमा भएकाले प्राथमिकतामा नपरेको बताउनुभयो । 

सहमहामन्त्री पाण्डेले अहिले संसद्मा कानुन निर्माणका लागि बनाइएका समितिले पनि काम गर्न नसकेकामा चिन्ता व्यक्त गर्नुभयो । सांसदले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको उहाँको स्वीकारोक्ति छ । सांसदले गर्नुपर्ने कामभन्दा पनि आउने निर्वाचन केन्द्रित हुन थालेकाले संसद्को भूमिका प्रभावकारी हुन नसकेको उहाँको भनाइ थियो । 

सहमहामन्त्री पाण्डेले भन्नुभयो, “प्रत्येक १० वर्षको अवधिमा संविधानमा भएका कुरा थपघट गर्न संविधान पुनरावलोकनमा सोच्नुपर्ने अवस्था आएको छ ।” कार्यक्रममा जिल्ला समन्वय समिति बाजुराका प्र्रमुख तुलसीराम रोकायाले जिल्लामा राजनीतिक नेतृत्वमा अभिभाकत्वको भूमिका निर्वाह गर्नेको खाँचो रहेको बताउनुभएको छ ।

जिल्लाको पर्यटकीय सम्भावना थुप्रै भएकाले त्यसको प्रचारप्रसार र पहिचान बढाउन आवश्यक रहेको समन्वय प्रमुख रोकायाले बताउनुभयो ।