फाइल तस्वीर
जानकी — बाँकेमा रक्षा सम्वाददाता अभिमुखीकरण प्रशिक्षण शुरू भएको छ । आज राझास्थित श्री ४ नं बाहिनिमा शुरू भएको उक्त तालिम १९ गतेसम्म सञ्चालन हुनेछ ।

सैनिक जनसम्पर्क निर्देशनालयको आयोजनामा भइरहेको तालिममा कर्णाली र लुम्बिनी प्रदेशमा कार्यरत २० जना पत्रकारहरुको सहभागिता छ । 

तालिमको उद्घाटन गर्दै उत्तर पश्चिम पृतना हेडक्वाटर सुर्खेतका पृतनापति उपरथी कृष्णदेव भट्टले सेना र नागरिकबीचको सम्बन्ध प्रगाढ बनाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले सेनाले गरिरहेका क्रियाकलापलाई नागरिक समक्ष पु¥याउन र  नागरिक प्रतिउत्तरदायी बनाउन सञ्चारकर्मीले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । 

तालिममा सेनाले गरिरहेका क्रियाकलाप, सेना र मानव अधिकार, सेना र नागरिक बीचको सम्बन्ध, सूचनाको हकलगायतका विषयमा विषय विज्ञहरुले प्रशिक्षण दिने उत्तर पश्चिम पृतनाका प्रवक्ता सेनानी रेनु शाहले जानकारी दिनुभयो । 

उहाँका अनुसार पहिलो दिन प्रशिक्षकका रूपमा प्रमुख सेनानी अनिल सुवेदीले सेनाको कानूनी व्यवस्था र प्रमुख सेनानी निखिल चन्दले सेना संरचनाका विषयमा प्रशिक्षण दिनु भयो । प्रमुख सेनानी सागर कार्कीले तालिमको महत्वबारे प्रकाश पार्नुहुनेछ ।