फाइल तस्वीर

धनगढी — बझाङ जिल्लाको बुङ्गल नगरपालिका वडा नम्बर–१ का धनबहादुर बोहराले आफुलाई ज्यानमार्ने धम्की आएको भन्दै जिल्ला प्रहरी कार्यालयमा सुरक्षा माग गर्दै उजुरी दर्ता गराउनुभएको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साउदले आफ्नो ज्यान मार्ने धम्की दिनुभएको भन्दै बोहराले प्रहरीमा उजुरी दिनुभएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीमा हिजो सोमबार उजुरी दर्ता गराउनुभएका बोहराले मन्त्री साउदलाई विभिन्न मितिमा पैसा दिएको तर फिर्ता माग्दा उल्टै ज्यान मार्ने धम्की दिएको उजुरीमा उल्लेख गर्नुभएको बताइएको छ ।

यता मन्त्री साउदले भने आफूविरूद्व बोहराले उजुरी दिएको विषयमा जानकारी नभएको बताउँदै त्यसबारे आफुले बुझ्ने जानकारी गराउनुभयो । मन्त्री साउदका अनुसार बोहरासँग कुनै लेनदेन नभएको र आफूले बोहरालाई धम्की दिएको भन्ने आरोपमा कुनै सत्यता नभएको बताउनुभएको छ ।