लुम्बिनी — नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले सत्ता गठबन्धन इमान्दारीपूर्वक अगाडि बढ्नुपर्ने बताउनुभएको छ । बुटवलमा आज आयोजित साक्षात्कार कार्यक्रममा नेता डा सङ्ग्रौलाले गठबन्धन जुन उद्देश्य र भावनाले अगाडि बढेको छ , त्यहीअनुरुप व्यवहारमा देखिनु पर्ने बताउनुभयो ।

‘सबै वडामा एकैपटक काङ्ग्रेस, समुदायमा जाऔँ, जनताका कुरा सुनौँ’ अभियानको सिलसिलामा जिल्ला अभियानमा रहनुभएकी नेता डा सङ्ग्रौलाले जनतामाझ भएका गुनासो सम्बोधन गर्न पार्टीले अभियान चलाएको बताउनुभयो ।

नेता डा सङ्ग्रौलाले पार्टीलाई बलियो बनाउनका लागि अभियान प्रभावकारी रहने जनाउँदै पार्टी नेतृत्व एक ढिक्का भएर अगाडि बढ्नुपर्छ भन्नुभयो । कार्यक्रममा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनालले काङ्ग्रेसले अहिले सञ्चालन गरेको अभियान समयसापेक्ष रहेको उल्लेख गर्नुभयो । यो अभियानपछि लुम्बिनी प्रदेश समितिले घरघरमा काङ्ग्रेस अभियान लिएर जाने उहाँले बताउनुभयो ।