फाइल तस्वीरः मिटरब्याज पीडितहरुको आन्दोन ।


काठमाडौँ — मिटरब्याज र ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिको अगुवाइमा मिटरब्याज पीडितहरुको एउटा समूहले मिटरब्याजविरुद्ध न्यायका लागि मार्चपास गर्नेभएका छन् । पूर्वी नेपालको झापा र कञ्चनपुरदेखि काठमाडौंसम्म उनीहरुले मिटरब्याजविरुद्ध पदयात्रा गर्ने भएका हुन् ।

भोलि माघ १६ गतेदेखि गरिने मार्चपास आन्दोलनमा उत्रिने मिटरब्याजबाट पीडितहरुको एउटा समूह झापादेखि र अर्को समूह कञ्चनपुरदेखि आएका चितवनमा भेला हुनेछन् । त्यहाँबाट संयुक्तरुपमा मार्चपास आन्दोलन गर्दै उनीहरु काठमाडौँ आउने छन् ।

मिटरब्याज र ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिका संयोजक अवधेश कुशवाहले बताए अनुसार मिटरब्याज पीडितहरुले यसलाई मिटरब्याजविरुद्ध न्याय मार्च नाम दिइएको छ ।

गाउँघरमा साहु महाजनबाट ऋृण लिएका सर्वसाधारणसँग साहु महाजनले चर्को ब्याज लिने, साहुबाट ऋृण लिएको भन्दा धेरै रकम लिएको भनेर नक्कली कागजात बनाइ रकम असुल्ने जस्ता गैह्रकानूनी काम गरेको र आफुहरु पीडित भएको भन्दै गतवर्षदेखि आन्दोलनमा उत्रिएका छन् । पीडितहरुको आन्दोलनलाई सम्बोधन सरकारले अनुचित लेनदेन नामकरण गर्दै कानुनसमेत बनाएर कतिपयलाई कानूनी दायरामा समेत ल्याएर कारवाही गरेको छ ।

सरकारले मिटरब्याज समस्या समाधान गर्न भन्दै गत वर्ष चैत २० गते गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोगसमेत गठन गरेको थियो । जाँचबुझ आयोगले जनकपुरधाममा कार्यालय राखी मिटरब्याज पीडितहरुबाट उजुरी लिएर सोको बारेमा सरकारलाई प्रतिवेदनसमेत बुझाएको थियो । मिटरब्याजबाट पीडित केहीले न्याय पाएपनि अझै ठूलो सङ्ख्यामा पीडितहरु रहेकोभन्दै उनीहरु न्यायका लागि सरकारको ढोका ढकढक्यान राजधानी केन्द्रीत आन्दोलन गर्न मार्चपास गरेर काठमाडौँ आउन लागेका हुन् ।