फाइल तस्वीर
सर्लाही — विद्याकीदेवी सरस्वतीको पूजा नजिकिएसँगै सर्लाहीका कालिगड (मूर्तिकार) लाई सरस्वतीका मूर्ति बनाउन भ्याइनभ्याइ भएको छ । वसन्तपञ्चमी अर्थात सरस्वती पूजाको दिनका लागि यहाँका कालिगडलाई विभिन्न किसिमका मूर्ति बनाउन भ्याइनभ्याइ भएको हो ।

वसन्तपञ्चमीको पूजामा सरस्वतीको मूर्तिबाट प्रशस्त आम्दानी हुने भएकाले जिल्लाका कालिगड मूर्ति बनाउन व्यस्त भएका राजीव महतोले बताउनुभयो । विद्यालयहरुमा सरस्वतीको मूर्तिको माग बढी भएकाले यहाँका कालिगड मूर्ति बनाउन व्यस्त रहेका उहाँको भनाइ थियो । 

मूर्तिको आकार हेरेर मूल्य तोकिने भए पनि एउटा मूर्तिलाई रू दुई हजारदेखि रू १४ हजारसम्ममा पर्ने कालिगड रामईश्वर पण्डितले बताउनुभयो । गणेश पूजा, कृष्ण जन्माष्टमी, विश्वकर्मा पूजा र दुर्गा पूजालगायत पर्वमा मूर्ति बेचेर करिब रू तीन लाखसम्म आम्दानी हुने उहाँले जानकारी दिनुभयो ।

“विशेष समयमा मूर्तिको माग बढी आउने भएकाले घरपरिवारका सबै सदस्य काममा लाग्ने गर्दछन्”, मूर्तिकार लक्ष्मी पण्डितले भन्नुभयो । उहाँका अनुसार सरस्वती पूजाका लागि यसअघिका वर्षभन्दा यस वर्ष बढी माग आएको छ । उहाँले वार्षिक रू तीन लाखसम्म आम्दानी हुने गरेको बताउनुभयो । 

खासगरी कुमाल जातिको पुख्र्रौली पेसा भए पनि पछिल्लो समय समुदायका मानिसले पनि मूर्ति बनाउन थालेका स्थानीय इन्द्र न्यौपानेले बताउनुभयो । उहाँका अनुसार अधिकांश  निजी तथा सामुदायिक विद्यालयले सरस्वती पूजाका लागि मूर्ति बनाउन दुई महिना अघिदेखि कालिगडलाई सूचना दिने गरेका छन् । 

विद्यालय बाहिर टोलबस्तीमा गरिने पूजाको लागि भने पूजाको एकदिन अगाडि बिक्री स्थलमा गएर आफ्नो आर्थिक सामथ्र्य अनुसार सरस्वतीको मूर्ति छानेर खरिद गर्ने गरिएको स्थानीयवासी गोविन्द अधिकारीले बताउनुभयो । 

मूर्तिको आकार र प्रयोग गरिएका सामग्रीका आधारमा प्रतिमूर्ति रू दुई हजारदेखि रू १५ हजारसम्म मूल्य पर्ने कालिगड सञ्जय रायले बताउनुभयो । यो  पेसाबाट आफु सन्तुष्ट रहेको भन्दै यसबाटै सहज रुपमा जीविकोपार्जन भइरहेको उहाँको भनाइ थियो ।