वीरगञ्ज — प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी, केन्द्रीय समिति र राष्ट्रिय परिषद् बैठक आजदेखि पर्साको वीरगञ्जमा सुरु भएको छ । वीरगञ्जस्थित टाउन हलमा सुरु भएको बैठकमा सङ्गठनका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा जिल्ला अध्यक्ष गरी करिब पाँच सय जनाको सहभागिता छ ।

बैठकमा सङ्गठनको साङ्गठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदनसँगै विधान संशोधन मस्यौदा र नेपाल पत्रकार महासङ्घको आगामी निर्वाचनलगायत विषयमा छलफल गरिने ‘एजेण्डा’ तय भएको प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेलले जानकारी दिनुभयो । प्रदेशगत रुपमा समूह विभाजन गरी एजेण्डामा दफावार छलफल हुने उहाँले बताउनुभयो । 

प्रेस सेन्टर नेपालको २० औँ स्थापना दिवसका अवसरमा सोमबार वीरगञ्जमा कार्यक्रम आयोजना गरिँदै छ । स्थापना दिवस तथा पुुरस्कार वितरण कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनुहुने महासचिव पौडेलले जानकारी दिनुभयो ।