फाइल तस्वीर सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता खगराज भट्ट ।


धनगढी — सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को सुदूरपश्चिम प्रदेशमा विवाद उत्पन्न भएको छ । माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलका नेताबाट खगराज भट्टलाई हटाएर सांसद् मानबहादुर धामीलाई संसदीय दलको नेता बनाएपछि त्यहाँ विवाद चुलिँदै गएको हो ।

संसदीय दलको नेताका विषयलाई उत्पन्न भएको विवादलाई लिएर माओवादी केन्द्र प्रदेश समितिले तीन दिन अघि प्रदेश संसदीय दलको नेता फेर्न गरिएको निर्णयलाई सच्याउन निर्देशन दिएको छ । प्रदेश समितिका अध्यक्ष हरिराम चौधरी(उत्सव) को अध्यक्षतामा हिजो शनिबार बसेको बसेको पदाधिकारी बैठकले उक्त निर्णय सच्याउन संसदीय दललाई निर्देशन दिने निर्णय गरेको हो ।

शुक्रबार बसेको माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलका बहुमत सांसदको बैठकले संसदीय दलका नेता खगराज भट्टलाई हटाएर दलको नेतामा मानबहादुर धामीलाई बनाउने निर्णय गरेको थियो । संसदीय दल र प्रदेश सरकारको कार्यसम्पादन सन्तोषजनक नभएको कारण देखाउँदै उनीहरुले यसअघि गत पुस २१ गते राजधानी पुगेर प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै दल नेता र मन्त्री फेर्नुपर्ने आग्रह गरेका थिए ।

संसदीय दलका नेता भट्टको जानकारीबिना उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले दलको नेता परिवर्तन र सरकार परिवर्तन गर्ने भन्ने कुराप्रति ध्यानाकर्षण भएको जनाउँदै सच्याउन निर्देशन दिने निर्णय भएको माओवादी केन्द्रले जनाएको छ ।

‘यहि मिति २०८० माघ १२ गते नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक दल नेता कमरेड खगराज भट्टको जानकारीबिना उपनेता कमरेड अक्कलबहादुर रावलको अध्यक्षता बसी दलनेता परिर्वतन र सरकार परिर्वतन गर्ने भन्ने कुराप्रति पदाधिकारीहरुको गम्भीर ध्यानाकर्षण भएको छ,’ निर्णयमा भनिएको छ, ‘हाम्रो पार्टी परम्परा,विधिविपरीत केन्द्रीय निर्देशनको समेत अवज्ञा गरी गरिएको निर्णयले पार्टीमा अराजकता र स्वेच्छाचारीताले संस्थागत मान्यता पाउने खतरा हुने भएकोले संसदीय दलको यो निर्णय पार्टीका हजारौं कार्यकर्ताको मनोभावना विपरीतको भएकोले अविलम्ब सच्याउन संसदीय दललाई निर्देशन दिने निर्णय गरियो’ भनि उल्लेख गरिएको एक परिपत्र समेत जारी गरेको छ ।

संसदीय दलभित्रको समस्यालाई गम्भीरतापूर्वक लिएर केन्द्रीय कार्यालयको उपस्थितिमा विवाद समाधान गर्ने पहल गर्नसमेत आग्रह गरिएको छ । त्यही बेला बहुमत सांसदको भावनाअनुसार अघि नबढेमा संसदीय दलको विधानअनुसार निर्णय लिने चेतावनी दिएका बहुमत सांसदले दलको नेता परिवर्तन गरेपछि माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश संसदीय दलमा विवाद चुलिंदै गएको छ ।