फाइल तस्वीर
सुदूरपश्चिम — सुदूरपश्चिम प्रदेशसभा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का प्रदेशसभाका बहुमत सदस्यले आज दलको नेता परिवर्तन गरेका छन् । नेकपा (माओवादी केन्द्र) संसदीय दलको असन्तुष्ट बहुमत सदस्यको आज बसेको बैठकको निर्णयबाट दलको नेता परिवर्तन गरिएको उपनेता अक्कलबहादुर रावलले जानकारी दिनुभयो ।

दलको नेतामा मानबहादुर धामीलाई चयन गरिएको छ । धामी दार्चुलाको प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

दलका नेता खगराज भट्टप्रति बढेको असन्तुष्टिकै कारण दलको नेता परिवर्तन गरिएको उपनेता रावलले बताउनुभयो । दलको नेता परिवर्तनको जानकारी प्रदेशसभा सचिवालयलाई दिइएको छ । पार्टीका तर्फबाट सरकारमा नेतृत्व गर्ने मन्त्रीको कामप्रति पनि असन्तुष्टि रहेको बताइएको छ ।

नेपाली कांग्रेसको नेतृत्वमा रहेको प्रदेश सरकारमा नेकपा (माओवादी केन्द्र) दुई मन्त्री र एक राज्यमन्त्रीसहित गठबन्धन सरकारमा सम्मिलिछ छ । त्रिपन्न सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रका ११ सदस्य छन् ।