फाइल तस्वीर
सुदूरपश्चिम — सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा प्रभावकारी ढङ्गले काम गर्न यससम्बन्धी ऐनमा संशोधन विधेयक ल्याउनुपरेको बताउनुभएको छ ।

प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफमा मन्त्री भट्टले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका सवालमा केन्द्रको ऐन र प्रदेशको ऐनमा एकरुपता ल्याउँदै विपद् व्यवस्थापनको कामलाई प्रभावकारी बनाउने उद्देश्यले संशोधन विधेयक ल्याइएको स्पष्ट पार्नुभयो ।

विधेयकमाथिको छलफलमा प्रदेशसभाका सदस्य मेघराज खड्का, अक्कलबहादुर रावल, धर्मराज पाठक र टीका थापाले भाग लिनुभएको थियो । यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्री भट्टले प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको थियो ।