फाइल तस्वीर माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश नयाँ संसदीय दलको नेता मानबहादुर धामी ।

धनगढी — सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले संसदीय दलको नेता परिवर्तन गरेको छ । माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको आज शुक्रबार बसेको बैठकले संसदीय दलका नेता खगराज भट्टलाई हटाएर सांसद मानबहादुर धामीलाई नयाँ संसदीय दलको नेता चयन गरेको हो ।

संसदीय दलका उपनेता अक्कल रावलले भट्टलाई हटाएर दलको नेतामा धामीलाई चयन गरेको बताउनुभयो । पूर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री समेत रहनुभएका धामीलाई संसदीय दलको नेता चयन गरेपछि सरकारमा सामेल भएको माओवादी केन्द्रका मन्त्रीहरु समेत परिवर्तन गर्ने गृहकार्य समेत भएको छ ।


सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी केन्द्रबाट दुई मन्त्री र एक राज्यमन्त्री हुनुहुन्छ । पछिल्लो समय सरकारमा सहभागी भएका मन्त्रीहरुको कार्यसम्पादन गर्ने क्षमता नदेखिएको र संसदीय दलका नेता भट्टको कार्यशैली पनि गतिलो नभएको भन्दै माओवादी केन्द्रको संसदीय दलमा खटपट हुँदै आएको थियो ।

उक्त प्रदेशको संसदीय दलमा देखिएको विवादका बारेमा सात जना सांसदहरुको प्रतिनिधिमण्डलको टोलीलप्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सो बारेमा लिखित रुपमा जानकारी गराउनुभएको थियो ।

संसदीय दलबाट प्रधानमन्त्री प्रचण्डलाई लिखित जानकारी गराउन गत पुष २१ गते सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारी, पार्टीका प्रमुख सचेतक मानबहादर धामी, राज्यमन्त्री गीता माल, सांसदहरू अक्कलबहादुर रावल, शिवसिंह ओली, ओमविक्रम भाट र लक्ष्मी विक काठमाडौँ आउनुभएको थियो ।