काठमाडौँ — प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी अस्पतालको छवि, साख, विश्वास एवं प्रवाह गर्ने सेवाको गुणस्तर अभिवृद्धि गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा आज आयोजित कार्यक्रममा अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीलगायत प्रहरी कर्मचारीलाई निर्देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभयो । 

प्रहरी महानिरीक्षक कुँवरले अस्पतालमा आउने सेवाग्राहीको आशा र समस्यालाई सम्बोधन गर्दै अझ शिष्ट बोलीवचन एवं व्यवहार तथा सकारात्मक सोचका साथ सेवाग्राहीलाई भावनात्मकरूपमा महसुस हुने गरी सेवा प्रवाह गर्न उपस्थित प्रहरी अधिकृतलाई निर्देशन दिनुभयो । 

अस्पतालले प्रदान गर्ने गुणस्तरीय सेवा प्रवाह एवं सेवाग्राहीको गुनासो व्यवस्थापनमा अस्पताल प्रशासनले अझै प्रवाभकारी भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  

प्रहरी महानिरीक्षक कुँवरले सीमित स्रोत साधनको समुचित प्रयोग गरेर व्यक्तिगत स्वार्थभन्दा पनि पेसागत स्वार्थलाई केन्द्रविन्दुमा राखेर कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहले अस्पतालको विकास र सेवा विस्तारका लागि सङ्गठन प्रमुखबाट प्राप्त महत्वपूर्ण निर्देशनलाई पालना गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।