फाइल तस्वीर
हेटौँडा — बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा रिक्त चार सिटका लागि जारी निर्वाचनको मतदान अन्तिम चरणमा पुगेको छ । बागमती प्रदेश निर्वाचन कार्यालय मकवानपुरका अनुसार मध्यान्नसम्म आइपुग्दा अन्तिम चरणमा पुगेको हो ।

राष्ट्रियसभा सदस्य निर्वाचन बागमती प्रदेश निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलकाअनुसार मतदान प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।

निर्वाचन अधिकृत सञ्जेलका अनुसार मतदाता रहेका प्रदेशसभा सदस्य ११० जना मध्ये ९९ जनाले र २३७ स्थानीय तहका प्रमुख उपप्रमुखमध्ये २२९ जनाले पनि मतदान गरिसक्नुभएको छ । निर्वाचन आयोगले आज बिहान नौ बजेदेखि तीन बजेसम्मका लागि मतदानको समय तोकेको थियो । मतदानको समय अघि नै मतदान सकिने भएता पनि पूर्व निर्धारित समय तीन बजेसम्म नै मतदानका लागि पर्खनु पर्ने हुन्छ । तीन बजेपछि मतगणनाको कार्य प्रारम्भ हुने निर्वाचन आयोगले जनाएको छ ।

आजको निर्वाचनका लागि मतदाता रहनुभएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह, हाम्रो नेपाली पार्टीका सांसदद्वय शैलेन्द्र बज्राचार्य र सरिता खड्गी मतदानमा सहभागी हुनुभएको छैन ।

यसैगरी नुवाकोटको किस्ताङ गाउँपालिकाका अध्यक्ष चेक बाउन्सको मुद्दा खेपिरहेकाले उहाँले मतदान गर्न पाउनुभएन भने काभ्रेपलाञ्चकको चौँरी देउराली गाउँपालिकाका उपाध्यक्ष शेरबहादुर लामा बिरामी भएकाले मतदानमा सरिक हुन नसक्ने भएपछि बागमती प्रदेशमा कुलमतभारको एक सय ६३ मतभार घट्ने देखिएको छ ।