फाइल तस्वीर
काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकका हरेक क्षेत्रमा सूचना र प्रविधिको विकास लागि संस्थागत र जनशक्तिको पुनःसंरचना आवश्यक रहेको बताउनुभएको छ । आज मन्त्रालयमा आयोजित आगामी १६ औँ पञ्चवर्षीय योजनामा समेटिनुपर्ने मन्त्रालय र मातहतका निकायका लक्षित कार्यक्रमबारे छलफलमा बोल्दै मन्त्री शर्माले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

मन्त्री शर्माले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि पनि दक्षजनशक्ति र चुस्त निकाय बनाउन उक्त पुनःसंरचना आवश्यक रहेकामा जोड दिंदै मन्त्रालय मातहतका निकायको संस्थागत र सञ्चारमाध्यममा रहेका जनशक्तिको पुनःसंरचना गरी क्षमता अभिवृद्धिमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।

उक्त छलफल कार्यक्रममा बोल्दै मन्त्री शर्माले आजको युग सूचना र प्रविधिको युग भएको र हरेक क्षेत्रको उदाउँदो र अपरिहार्य विषय पनि भएकाले सूचना प्रविधि प्राधिकरण वा यस्तै अन्य संस्थागत संरचनाको आवश्यकता औँल्याउनुभयो ।

यसका लागि मन्त्री शर्माले मन्त्रालय एक्लैले मात्र काम गरेर सफलता हासिल नहुने उल्लेख गर्नुहुँदै मातहतका निकायका नेतृत्वले पनि उत्साहका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मन्त्रालयलका सचिव रामकृष्ण सुवेदीले सोह्रौँ योजना आगामी पाँच वर्षसम्म मुलुक रुपान्तरणका लागि मार्गनिर्देशन भएकाले सोहीअनुसार कुनै पनि विषय नछुटने गरी समावेश गर्नका लागि लाग्न मातहतका निकायलाई निर्देशन दिनुभयो । सचिव सुवेदीले योजनामा लक्षित कार्यक्रम समावेश गर्ने सन्दर्भमा मातहतका निकायलाई मन्त्रालयले समाधानका लागि गर्नुपर्ने आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।