तस्वीरमा प्रधानमन्त्री र बालुवाटार पुग्नुभएका विद्धत वर्गका प्रतिनिधिहरु ।


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश बनाउन ‘बेस्ट ब्रेनहरू’ केन्द्रित हुनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री दाहालले आज बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा केही प्रबुद्ध व्यक्तिहरुसँगको छलफलका क्रममा यस्तो धारणा राख्नुभएको हो ।

प्रधानमन्त्रीले आज बिहान बालुवाटारमा विद्धतवर्गहरु डा.केदारभक्त माथेमा, डा. पिताम्बर शर्मा, डा. विद्यानाथ कोइराला, डा.चैतन्य मिश्र र प्रा.कृष्ण खनालसहितका व्यक्तिहरुसँग देशको वर्तमान अवस्थाका साथै शिक्षा क्षेत्रको विकासका बारेमा छलफलमा गर्नुभएको थियो ।

सो क्रममा प्रधानमन्त्रीले देश बनाउने जिम्मा सरकार, सबै राजनीतिक दल र विभिन्न तप्काका जनसमुदायको भएको बताउँदै अहिले देशको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा रुपान्तरणको खाँचो रहेकाले राज्यसँगै मिलेर सबैले जिम्मेवारी लिनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्रीले देश बनाउन सबभन्दा बेस्ट ब्रेनहरू केन्द्रित गर्नुपर्छ भन्ने विगतदेखिको आफ्नो सोच रहँदै आएको उल्लेख गर्नुहुँदै अहिले विश्वविद्यालयलाई राजनीतिक भागबण्डाको केन्द्र बनाउनु हुँदैन भनेर नै आफुले परम्परामा ‘ब्रेक थ्रु’ गर्न खोजेको बताउनुभयो ।

प्रधानमन्त्रीले आफू प्रधानमन्त्री भएदेखि नै भोलिको उज्यालो र सम्मुन्नत नेपालका लागि सुशासन, सामाजिक न्याय र सम्बृद्धिका पक्षमा अनवरत काम गरिरहेको जिकिरसमेत गर्नुभयो ।

देशमै भविष्य छ भनेर आम नागरिकलाई विश्वस्त पार्नुपर्ने दायित्व राज्यको भएकाले पनि यसका लागि बौद्धिक समुदायले समेत महत्वपूर्ण भूमिका खेल्नुपर्नेकुरा जोड दिनुभयो । त्रिभूवन विश्वविद्यालयमा उपकुलपति नियुक्तिका सन्दर्भमा प्रधानमन्त्रीले जुन प्रयासको थालनी गर्नुभएको छ, त्यो अत्यन्त सह्रानीय रहेको प्रतिक्रिया दिंदै प्रधानमन्त्रीलाई भेट्न पुग्नुभएका विद्धतवर्गले समग्र शिक्षा क्षेत्रसहित विश्व विद्यालयहरुको पुनर्संरचना गर्नेगरी सुधारको काम थाल्न सुझाउनुभएको थियो ।