फाइल तस्वीर


काठमाडौँ — बहुप्रतिक्षित नागढुङ्गा सुरुङमार्गको काम ‘ब्रेक थ्रु’ को सङ्घारमा पुगेको छ । नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाए अनुसार सुरुङ छिचोल्ने काम अब एक प्रतिशत मात्र बाँकीरहेको रहेकोले उक्तमार्ग ‘बे्रक थ्रु’को सङ्घारमा पुगेको हो ।

सुरुङमार्गको ९९ प्रतिशत काम सकिएको छ । कुल २६ सय ८८ मिटर लम्बाइको सुरुङमार्गमा २६ सय २२ दशमलव ४ मिटर खनिएको छ । अब सुरुङमार्ग ‘ब्रेक थ्रु’ हुन ५४ दशमलव ६ मिटर मात्रै बाँकी रहेको आयोजनाले जनाएको छ ।

सो सुरुङमार्गको आकस्मिक सुरुङमार्ग गत भदौमै ‘ब्रेक थ्रु’ भइसकेको छ । अब आउँदो फागुन महिनाभित्र सुरुङमार्ग पुरै ‘ब्रेक थ्रु’ गर्ने तयारी गरिएको छ । सुरुङमार्ग खन्नेकाम धमाधम भएपनि कङ्क्रिट लाइनिङको ५३ दशमलव १ प्रतिशत काम बाँकी रहेको छ । उक्त काम सकाउन अझै १ वर्ष लाग्ने आयोजनाले जनाएको छ ।

सुरुङमार्गको अन्डरपास, बाक्स कल्र्भट, ओभरपास र पुल बनाएपनि फ्लाई ओभरको काम अझै बाँकी छ । फ्लाई ओभरको लागि ५ वटा फाउन्डेसनमध्ये तीन वटा सकिएको आयोजनाले जनाएको छ । बाँकी कामका लागि केही जग्गा अधिग्रहण गर्नुपर्ने छ । अहिलेसम्म सुरुङमार्गको कुल भौतिक प्रगति ६९ दशमलव १५ प्रतिशत रहेको छ भने वित्तीय खर्च करिब ६४ प्रतिशत रहेको आयोजनाले जनाएको छ ।