काठमाडौँ — अवैध साना हतियारको खतरालाई सम्बोधन गर्न एसिया–प्रशान्त क्षेत्रका राष्ट्रको तीनदिने सम्मेलन काठमाडौँमा आजदेखि सुरु भएको छ । साना तथा हलुका हतियारको अवैध व्यापार रोक्न र उन्मूलन गर्न संयुक्त राष्ट्रसङ्घीय कार्यक्रमको चौथो समीक्षा सम्मेलनका लागि आयोजित क्षेत्रीय तयारी बैठकमा ‘युनाइटेड नेशन प्रोग्राम अफ एक्सन’ (युएन पिओए)का सबै पक्ष र यसको ‘इन्टरनेसनल ट्रेसिङ इन्स्ट्रुमेन्ट’का बारेमा तीनदिनसम्म छलफल हुने भएको छ ।

सम्मेलनमा भाग लिन चौथो समीक्षा सम्मेलनका मनोनित अध्यक्ष कोस्टारिकाका मारिट्जा चान भाल्भेर्डे र निशस्त्रीकरण मामिलाका लागि संयुक्त राष्ट्रसङ्घका उपसचिव एवं उच्च प्रतिनिधि इजुमी नाकामित्सु र एसिया क्षेत्रका २५ भन्दा बढी राष्ट्रका प्रतिनिधि उपस्थित हुनुहुन्छ ।

संयुक्त राष्ट्रसङ्घको महासभामा सन् २००१ मा स्थापित ‘युएन पिओए’ एक महत्वपूर्ण र राजनीतिक रूपले बाध्यकारी संयन्त्र हो । यसमा साना हतियारमाथि परिष्कृत राष्ट्रिय नियमावली, भण्डार व्यवस्थापन, आयात तथा निर्यात नियन्त्रण र अन्तर्राष्ट्रिय सहयोगलगायतका उपायलाई अभिवृद्धि गर्न सदस्य राष्ट्रका प्रतिबद्धता सामेल छन् ।

सन् २००५ मा भएको इन्टरनेसनल ट्रेसिङ इन्स्ट्रुमेन्टको सुरुआतले हतियारको प्रभावकारी अङ्कन गर्ने र अभिलेख राख्ने आवश्यकतामा जोड दिँदै यस संयन्त्रलाई थप सुदृढ गर्नुका साथै र ट्रेसिंग कार्यलाई सहज बनाएको थियो । यी कदम अवैध हतियारको व्यापारबाट उत्पन्न हुने चुनौतीलाई सम्बोधन गर्ने वैश्विक प्रयासका अभिन्न अंंश हुन् र दिगो विकासका लक्ष्यका उद्देश्यअनुरूप छन् ।

संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रले आवधिक रूपमा न्युयोर्कमा २०८१ असार ३ देखि १४ गतेसम्म हुने चौथो समीक्षा सम्मेलनमा प्रतिबद्धताको प्रगतिसम्बन्धी समीक्षा गरिनेछ । सो बैठकका लागि आधार तयार गर्न तयारी समितिको बैठक यही माघ २९ देखि फागुन ४ गतेसम्म बस्नेछ । नेपाल सरकारसँगको सहकार्यमा एसिया तथा प्रशान्त क्षेत्रमा शान्ति र निःशस्त्रीकरणका लागि संयुक्त राष्ट्रसङ्घ क्षेत्रीय केन्द्रले काठमाडौँमा यस तयारी क्षेत्रीय बैठकको आयोजना गरेको हो ।

क्षेत्र निर्दिष्ट साना हतियार तथा हलुका हतियारसम्बन्धी चुनौती पहिचान गर्न र समीक्षा सम्मेलनका प्राथमिकताबारे छलफल गर्न क्षेत्रीय बैठकले नागरिक समाज संस्थालगायत सहभागी राष्ट्र तथा अन्य सरोकारवालासँग छलफल गर्नेछ । बैठकले प्रभावकारी राष्ट्रिय नीति तर्जुमा गर्ने, इन्टरनेसनल ट्रेसिङ इन्स्ट्रुमेन्ट प्रारूपमार्फत साना तथा हलुका हतियारको ट्रेसिंग बढाउने र माग तथा आपूर्ति नियन्त्रण गर्न रणनीति पहिचान एवं तर्जुमा गर्नेजस्ता विषयमा विषयगत प्रस्तुति र समूहगत छलफल गर्नेछ ।