फाइल तस्वीर मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा ।


काठमाडौँ — मन्त्रिपरिषद्को बैठकले जापान सरकारले नेपाललाई दिने करिब ३१ अर्ब दुई करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋृण लिने निर्णय गरेको छ । आज मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

सरकारको प्रवक्ता समेत रहनुभएकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार आज बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न तीन वटा निर्णय गरेको छ । जसमध्ये जापान सरकारबाट कोटेश्वर इन्टरसेक्सन इम्प्रुभमेन्ट प्रोजेक्ट (कोटेश्वर चोक सुधार) का लागि प्रस्तावित ३४ अर्ब ३९ करोड जापानी येन (करिब ३१ अर्ब २ करोड नेपाली रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋृण सहायतासम्बन्धी मस्यौदा सम्झौतालाई अन्तिम रुप दिन जापान सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गर्ने निर्णय गरिएको छ ।

यसैगरी दोस्रोमा राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को नियमन १६ को उपनियम (१) को खण्ड (क) बमोजिम डा. असिम भण्डारीलाई राष्ट्रिय एन्टीडोपिङ एजेन्सीको संयोजक पदमा मनोनयन गर्ने निर्णय गरेको छ भने तेस्रोमा २०८० माघ २२ गते ४ बजे सङ्घीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।