मनाङ — पर्यटकीय महत्वको हिमाली जिल्ला मनाङको तल्लो क्षेत्र बसोबासका लागि उपयुक्त छ । यहाँको वातावरण र प्राकृतिक सौन्दर्यले आकर्षित गर्ने भएकाले नासों गाउँपालिका–८ स्थित ताचै घरबास (होमस्टे)मा बस्ने पर्यटकका लागि उपयुक्त वातावरण बनेको हो ।
घरबास नजिकै रहेको थोङ्रोप्ली झरना पर्यटकका लागि आकर्षणको केन्द्र देखिएकाले यलाई प्रवद्र्धन गर्नुपर्नेमा स्थानीयवासीले जोड दिएका छन् । यहाँबाट देखिने हिमाल, उच्च पहाडका दृश्य, ताल, झरना, मनाङीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नका लागि पर्यटक मनाङ आउँछन् । धेरैजसो पर्यटक सिधै जिल्ला सदरमुकाम चामे भएर तिलिचो ताल जान थालेकाले यहाँको रमणीयस्थललाई प्रवद्र्धन गर्नुपर्ने आवश्यकता खडकिएको हो ।

जिल्लाको प्रवेशद्वार नजिकै रहेर पनि प्रचारप्रसारको अभावले यो थोङरोप्ली झरना ओझेलमा परेको स्थानीयवासी यज्ञ घलेले बताउनुभयो । उहाँले भन्नुभयो, “यस स्थलको प्रचारप्रसार गरी देश विदेशसम्म पु¥याउन सके आन्तरिक तथा बाह्य पर्यटक आकर्षित सकिन्थ्यो । स्थानीयवासीसँगै पर्यटनसँग सम्बन्धित अन्य निकायको साथ र सहयोग आवश्यक छ ।”

मुलुकमा लोकतन्त्र र गणतन्त्र आयो केही परिवर्तनकास्वरूप पनि देखिए तर सरकार नै आर्थिकरूपले समृद्ध हुने महत्वपूर्ण पर्यटकीयस्थलप्रति कसैको ध्यान जान नसक्दा ओझेलमा परेकाले आफूहरूलाई चिन्तित गराएको त्यहाँका वडाध्यक्ष याद घलेको गुनासो थियो । 

“ताचै गाउँको शिरमा रहेको सुन्दर झरनाबाट आठ वटा गाउँ देख्न सकिन्छ”, उहाँले भन्नुभयो, “पर्यटन मन्त्रालयबाट केही बजेट लिएर संरचना र रेलिङ बनाउने कार्य भए पनि अझै बाटो पु¥याउने कार्य अधुरै छ ।” 

यसलाई दृश्यावलोकनको केन्द्र बनाएर गाउँमा आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य अगाडि बढाइएको वडाध्यक्ष घलेले उल्लेख गर्नुभयो । प्रकृतिको भरपुर उपयोग गर्नेगरी पर्यटन प्रवद्र्धन गरी  स्थानीयवासीको जीवनस्तर उकास्ने उद्देश्यले कार्य गरिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “तल सुन्दर गाउँबस्ती छ यसको शिरमा रहेको यही झरना नै ताचैको पहिचान हो । होमस्टे पनि रहेको ताचैमा कसैको ध्यान नजानु दुःखद कुरा हो ।”

“पालिकाको बजेटले मात्र केही गर्न सकिँदैन । सङ्घीय तथा प्रदेश सरकार यस्ता महत्वपूर्ण विषयमा चुकेका छन् । पर्यटकीय क्षेत्रको विकास, विस्तार तथा प्रवद्र्धनमा उनीहरू लाग्नुपर्छ भन्ने हाम्रो जोडदार माग पनि छ । यस क्षेत्रको विकास र विस्तार हुन सके यो पर्यटकीय गन्तव्य बन्नसक्छ । पर्यटकीय गन्तव्य बनाउन सकिए पालिकालाई मात्र होइन देशकै पनि आम्दानीको स्रोत बन्नेछ”, वडाध्यक्ष घलेले भन्नुभयो । 

हुन त अहिले बाह्य पर्यटक ठप्प जस्तै भए पनि आन्तरिक पर्यटकमा भने खासै कमी आएको छैन । अन्नपूर्ण पदमार्गमा सन् २०२३ मा २१ हजार दुई सय ४७ विदेशी पर्यटक भित्रिए । यस पदमार्गमा एक वर्षको अवधिमा आएका पर्यटकमध्ये १२ हजार नौ सय ८१ पुरुष र आठ हजार दुई सय ६६ महिला रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्र धारापानी मनाङ शाखाले जनाएको छ । 

उक्त शाखाका इन्चार्ज भूपेन्द्र गुरुङले आन्तरिक पर्यटकको कुनै तथ्याङ्क नराखिएको जानकारी दिनुभयो । उहाँका अनुसार पर्यटकीय याममा बाह्यभन्दा आन्तरिक पर्यटक नै बढी आउँछन् । यिनै आन्तरिक पर्यटकमध्ये १० प्रतिशत मात्रैलाई पनि थोङरोप्ली झरना लैजान सके ताचैमा आय आर्जनको बाटो खुल्ने थियोे ।