काठमाडौँ — राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौँको क्षेत्रपाटीबाट स्रोत नखुलेको दुई करोड ३० लाख रकमसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा नरेश अग्रवाल र उनका सहयोगी रहेका विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “राजस्व अनुसन्धान विभागको टोलीले करिब दुई करोड ३० लाखजति रकमसहित चार जनालाई पक्राउ गरेको छ ।” व्यापारी नरेश अग्रवालको घरमा राजस्व अनुसन्धान विभागले छापा मारेपछि उक्त रकम फेला परेको बताइएको छ । बरामद गरिएको रकम हुण्डी कारोबारको हुनसक्ने अनुमान गरिएको छ । पक्राउ परेकाहरुविरुद्ध थप अनुसन्धानका लागि हिरासतमा राख्न आजै अदालतबाट म्याद लिने विभागको तयारी रहेको विभागका महानिर्देशक ढुङ्गानाले बताउनुभयो ।