काठमाडौँ — उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा नेपालका लागि अष्ट्रेलियाका राजदूत महामहिम फेलिसीटी जेन भोल्कले शिष्टाचार भेटघाट गर्नुभएको छ । भेटघाटका क्रममा शुभकामना आदानप्रदानपछि दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध, आर्थिक सहायता, प्रवासी नेपाली, पर्यटन लगायतका विविध विषयमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उपराष्ट्रपति यादवले दुई देशबीच सन् १९६० फेब्रुअरी १५ मा द्विपक्षीय सम्बन्ध स्थापना भएयता आपसी विश्वास, समझदारी र पारस्परिक सहयोगका आधारमा कायम रहेको मैत्रीपूर्ण सम्बन्ध पछिल्ला दिनहरुमा थप फराकिलो र गहिरो बन्दै गएकोमा खुसी व्यक्त गर्नुभयो । “अष्ट्रेलियाले नेपाललाई प्रदान गर्दै आएको विकास सहायता (ओडिए) मा वृद्धि गरेकोमा खुसी लागेको छ”, उहाँले भन्नुभयो, “सामुदायिक वन कार्यक्रम र नेपालमा वनको दिगो व्यवस्थापनमा अष्ट्रेलियाको महत्वपूर्ण योगदान उच्च प्रशंसनीय छ ।” उहाँले विभिन्न क्षेत्रीय र बहुपक्षीय मञ्चहरुमा नेपाल र अष्ट्रेलियाबीचको घनिष्ठ सहयोग रहँदै आएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “दुवै देशले बहुपक्षीयताको संरक्षण र प्रवद्र्धन गर्न साझा हित राख्ने गर्दछ र न्यायपूर्ण, समानुपातिक, समावेशी र नियममा आधारित विश्व व्यवस्थालाई समर्थन पनि गर्दछन् ।”

अष्ट्रेलियाका महामहिम राजदूत फेलिसीटी जेन भोल्कले दुई देशबीच जनस्तरको सम्बन्धसँगै सरकारसँग बलियो र गहिरोसम्बन्ध रहेको बताउनुभयो । उहाँले अष्ट्रेलियामा ६० हजार नेपाली विद्यार्थीसहित एक लाख २० हजार नेपाली बसोबास गर्दै आएको जानकारी दिनुभयो । “नेपाली विद्यार्थी उच्च शिक्षा हासिल गरेपश्चात नेपालमै फर्किएर नेपालको विकासमा टेवा पु¥याउनका लागि उनीहरुलाई उत्प्रेरित गर्ने प्रयासमा छु । नेपाल र अष्ट्रेलियाका शैक्षिक संस्थाबीच सहकार्यले ‘ड्युअल डिग्री’ कार्यक्रम सञ्चालन गर्दै नेपालमा अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्या बढाउन सकिन्छ । यसका लागि हालै काठमाडौँ विश्वविद्यालय र क्राउन इन्स्टिच्युटबीच समझदारी भएको छ”, उहाँले भन्नुभयो ।