चैनपुर —सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले मुलुकलाई दिशानिर्देश गर्न पत्रकारिताको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । राससका सुदूरपश्चिम प्रदेशमा कार्यरत समाचारदाताहरुका लागि आजदेखि कञ्चनपुरमा आयोजित अभिमुखीकरणको उद्घाटन गर्दै मन्त्री भट्टले समाज र राष्ट्रको परिवर्तन गर्न पत्रकार र पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको हो ।

समाजले नबुझेको कुरा पत्रकारले बुझेको हुन्छ भन्दै मन्त्री भट्टले त्यसैले समाजलाई कुन दिशामा डो¥याउने र समाजको परिवर्तन कसरी गर्ने भन्ने कुरा पत्रकारलाई थाहा हुने स्पष्ट गर्नुभयो । यसकारण पत्रकारिता पेसामा लाग्ने मान्छे स्वतन्त्र, स्वाभिमानी र जिम्मेवार हुनु जरुरी रहेको उहाँको भनाइ थियो ।  

कार्यक्रममा भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटीले पत्रकारिता पेसालाई जिम्मेवार र मर्यादित बनाउन पत्रकार नै लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले पत्रकारलाई स्वतन्त्र भएर कलम चलाउन आग्रह पनि गर्नुभयो । 

सो कार्यक्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससलाई नयाँ ढङ्गबाट उचाइमा पु¥याउन समाचारदाताहरुलाई तालिम सुरु गरेको बताउनुभयो । राससले लुम्बिनी र गण्डकी प्रदेशका समाचारदाताहरुपछि सुदूरपश्चिम प्रदेशमा अभिमुखीकरण गर्न लागेको बताउनुभयो ।

उहाँले राससले देशका विभिन्न मातृभाषालाई प्राथमिकता दिएको उल्लेख गर्दै मातृभाषामा पनि समाचार सेवा सुरु गरेको र आगामी दिनमा यसलाई निरन्तरता दिने जानकारी दिनुभयो । 

दुई दिनसम्म सञ्चालन हुने समाचार लेखनसम्बन्धी यस सुदूरपश्चिम प्रदेशस्तरीय अभिमुखीकरणमा १८ जना समाचारदाताको सहभागिता रहेको छ ।