फाइल तस्वीर


बनेपा — काभ्रेपलाञ्चोक जिल्लास्थित बनेपा नगरपालिकाका एक वडाध्यक्ष १५ लाख रुपैयाँ घुस लिंदै गरेको अवस्थामा पक्राउ परेका छन् । बनेपा नगरपालिका वडा नं ९ का वडाध्यक्ष नृपेश वादे भक्तपुरको गठ्ठाघरमा सेवाग्राहीबाट घुस लिइरहेकै अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रङ्गेहात पक्राउ गरेको हो ।

वडाध्यक्ष वादेले घरको बाटो सिफारिस गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरीसहितको सूचना पाएपछि अख्तियारको टोलीले १५ लाख रुपैयाँ सवुद प्रमाणसहित वडाध्यक्ष नृपेश वादेलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

सोही क्रममा अख्तियारको टोलीले वडाध्यक्ष वादेको साथबाट स्रोत नखुलेको १० हजार जापानी येन, एक सय अमेरिकी डलरको नोटका साथै ह्युण्डाई कम्पनीको आईटेन कार र सो कारका चालकलाई समेत नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी गराउनुभएको छ ।