फाइल तस्वीर
काठमाडौँ — जिल्ला अदालतका निलम्बित न्यायाधीश भुवन गिरीविरुद्ध उनकी जीवनसङ्गिनी आरती रावलद्वारा सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि आज सुनुवाई हुँदैछ । न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र सुनिल पोखरेलको संयुक्त इजलासमा परेको उक्त रिटको सुनुवाई आज बुधबार हुन लागेको हो ।

न्यायाधीश गिरीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने भन्दै उनकी जीवनसङ्गिनी आरतीले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । न्यायाधीश गिरीकी जीवनसङ्गिनी आरतीले कपिलवस्तु र काठमाडौँ जिल्ला अदालतमा पतिविरुद्ध वैवाहिक बलात्कारको जाहेरी दिएकी थिइन् । दुवै जिल्ला अदालतबाट न्यायाधीश गिरीलाई धरौटीमा रिहा गर्ने आदेश भएको थियो ।

जिल्ला अदालतको आदेशविरुद्ध रावल क्षेत्राधिकार रहेको उच्च अदालतमा ७३ नम्बरको निवेदन लिएर थुनामै राख्नुपर्ने माग गरी निवेदन दिन पुगेकी थिइन् । क्षेत्राधिकार रहेको दुवै उच्च अदालतले समेत जिल्ला अदालतकै आदेश सदर गरेपछि रावल सर्वोच्च अदालत आइपुगेकी हुन् ।

न्यायाधीश गिरीविरुद्ध दायर भएको वैवाहिक बलात्कारको मुद्दा दुवै जिल्ला अदालतहरूमा विचाराधीन छ । तर अदालतले गिरीलाई थुनामा नराखी धरौटीमा छाडेको भन्दै रावल सर्वोच्च अदालतसम्म आइपुगेकी हुन् ।

अदालतमा मुद्दा र निवेदन विचाराधीन रहेकै अवस्थामा रावलले सर्वोच्च अदालत अगाडि आत्मदाह गर्ने भन्दै सञ्चारकर्मीलाई खबर गरेर अदालत अगाडि पुगेकी थिइन् । विचाराधीन मुद्दा र निवेदनलाई प्रभावित पार्ने गरी हर्कत गरेको भन्दै प्रहरीले रावललाई सोही दिन पक्राउ गरेको थियो ।