फाइल तस्वीर


काठमाडौं — नेपाल वायुसेवा निगमका दुई वटा विमान ग्राउण्डेड भएका छन् । कलसाइन ९एन–एलजेड ए३३० कलसाइनको वाइडबडी विमानको फ्लाइट कन्ट्रोल सेन्सरमा समस्या देखिएपछि विमानलाई ग्राउण्डेड गरिएको हो ।

यसैगरी निगमकै न्यारोबडीको अर्को विमान पनि मर्मतका लागि इजरायलमा पठाइएको छ । महिनाभन्दा लामो समयदेखि ग्राउण्डेड भएको न्यारोबडीको विमान समयमै मर्मत नगर्दा एकै साथ दुईवटा विमान ग्राउण्डेड हुँदा एकैसाथ अन्तर्राष्ट्रिय उडानमा समस्या देखिएको छ ।

अन्तर्राष्ट्रिय उडानका लागि निगमसँग रहेको चारवटा विमान मध्ये दुई जहाज प्राविधिक समस्याका कारण ग्राउण्डेड भएका छन् । यसबाट सयौं यात्रुको यात्रा प्रभावित बनेको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार ९एन–एलजेड ए३३० वाइडबडीको उक्त विमानको फ्लाइट कन्ट्रोल सेन्सरमा प्राविधिक समस्या देखिएपछि उडान रोक्नु परेको हो । निगमले अन्तर्राष्ट्रिय उडानमा यात्रुहरुलाई समस्या नपर्ने गरी व्यवस्थापन गर्ने बताएको छ ।

दुई वटा विमान ग्राउण्डेड भएका कारण निगमका केही अन्तर्राष्ट्रिय उडानहरुमा ढिलाई हुनेभएको छ । निगमले सकेसम्म पूर्ण निर्धारित उडानहरु तालिकालाई रद्द गर्नेभन्दा पनि केही व्यवस्थापन गरेर तालिका अनुसार नै अन्तर्राष्ट्रिय उडानको व्यवस्थापन गर्ने प्रवक्ता पौडेलको भनाइ छ ।

एक पटक दुई वटा विमान ग्राउण्डेड भएपछि निगमको व्ययभार बढ्ने छ । गए राति ग्राउण्डेड गरिएको वाइडबडी विमानको मर्मत कार्य भैरहेको र प्राविधिक रुपले उडानयोग्य भएमा आजै उक्त विमानले तालिका अनुसार नै अन्तर्राष्ट्रिय उडान भर्ने निगमले जनाएको छ ।

हिजो राति दोहाको लागि उडान गर्ने तयारीमा रहेको वाइडबडीको उक्त विमानका दुई सय ७६ जना यात्रुहरुलाई होटलमा राखिएको र उनीहरुलाई आज साँझसम्ममा उनीहरुको गन्तव्यसम्म पुर्याउने योजना बनाएको निगमको भनाइ छ ।

दोहा उडानमा काठमाडौंबाट उड्ने तयारीमा रहेका २७६ यात्रुलाई राति होटेलमा राख्नु परेको थियो । उनीहरुलाई आज उडाउने तयारी रहेको निगमले जनाएको छ । निगमसँग यतिबेला एउटा वाइडबडी र एउटा न्यारोबडीका विमानले उडान गरिरहेका छन् ।