फाइल तस्वीरः काङ्ग्रेस नेता प्रकाशमान सिंह ।


काठमाडौँ — सत्तारुढ दल नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले भूमिगत जलको दोहनलाई नियन्त्रण गर्न आवश्यक रहेको बताउनुभएको छ । सोमवार सिंहदरबार परिसरमा मेलम्चीको खानेपानी पुनः वितरण सुरु गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै काङ्ग्रेस नेता सिंहले भूमिगत जलको दोहनलाई नियन्त्रण गर्नुपर्ने बताउनुभएको हो ।

देशभर खानेपानीको समस्याप्रति इङ्कित गर्दै नेता सिंहले काठमाडौँको मात्रै नभई देशभरकै पानीको समस्या समाधान गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले आफू उपत्यकावासी सुलभ तरिकाले सम्पूर्णलाई पानी उपलब्ध गराएको दिन पूरा खुसी हुने भन्नुहुँदै मेलम्चीको पानी अहिले उद्घाटन गरेको नभई पुनः वितरण मात्रै गरिएको स्मरण गराउनुभयो । काठमाडौँमा भूमिगत पानी तानेर नै मिनिरल पानी भन्दै बोतल, जार र ट्याङ्करमा बिक्री वितरण हुने गरे पनि यसको नियमन हुन नसकेको प्रति दुखेसो व्यक्त गर्नुभयो ।

नेता सिंहले भन्नुभयो, ‘मेलम्ची खानेपानी आयोजनाबाट हामी सबैले पाठ सिक्नुपर्छ । हामीले सुधार गर्नुपर्छ । योजना मात्रै ठुलो भएर हुँदैन, व्यवस्थापनमा हाम्रो ध्यान दिनुपर्छ र समयमा काम सम्पन्न गर्ने कार्यमा हामी लाग्नुपर्छ भन्ने पाठ सिकाएको छ । प्रधानमन्त्री ज्यु यो काठमाडौँ उपत्यकाको मात्रै होइन, नेपालभरकै यो ग्राउन्ड वाटरको जुन एक्स्ट्रयाक्शन बढी भइरहेको छ, त्यसमा अब सरकारले विशेष ध्यान दिनुपर्छ । म पूरा खुसी उपत्यकावासीलाई सुलभ तरिकाले गर्न सकेको दिनमा हुनेछु । यो पुनः वितरण गर्ने कार्य हो, उद्घाटन होइन ।’

नेता सिंहले मेलम्ची खानेपानी आयोजनाबाट पाठ सिकेर सरकारले योजना मात्रै ठुलो बनाउने नभए त्यसको व्यवस्थापन र समयमै काम सक्ने कुरामा बढी जोड दिनुपर्ने बताउनुभयो ।

हिउँद लागेसँग काठमाडौँ उपत्यकतामा दिनानु दिन पानीको समस्या बढिरहेको छ । भूमिगत पानीको सतह तीन सय फिटभन्दा तल पुगिसकेको अवस्था छ । त्यसो छ तराई क्षेत्रमा पनि भूमिगत पानीको सतह निकै तल गएको, इनार, ल्यालो ट्युबेल, बोरिङ्ग सुकेका छन् । भूमिगत पानीको सहत रित्तिदै गएको विज्ञहरुले बताउँदै आएका छन् ।