फाइल तस्वीरः जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल ।

काठमाडौँ — राष्ट्रपतिद्वारा राष्ट्रियसभा सदस्यमा मनोनित हुने रिक्त रहेको एक सिटका लागि राष्ट्रिय जनमोर्चाले उपाध्यक्ष दुर्गा पौडेललाई राष्ट्रपतिबाट मनोनीत गर्न पहल सुरुगरेको छ । जनमोर्चाका सांसद समेत रहनुभएका अध्यक्ष चित्रबहादुर केसीले आज आईतबार एक विज्ञप्ति जारी गर्दै यस्तो प्रस्ताव राख्नै पहल सुरुगर्नुभएको हो ।

सत्ता गठबन्धनले राष्ट्रिय जनमोर्चाले उपाध्यक्ष पौडललाई राष्ट्रपतिबाट मनोनित हुने कोटाबाट राष्ट्रियसभा सदस्यमा लैजाने भद्र सहमति गरेसँगै जनमोर्चाले विज्ञप्तिमार्फत् यस्तो प्रस्ताव अघि सारेको हो ।

जनमोर्चाबाट जारी विज्ञप्तिमा भनिएको छ —‘हामीले राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष र प्रवक्ता का. दुर्गा पौडेललाई राष्ट्रपतिद्वारा मनोनीत हुने राष्ट्रियसभाको महिला सदस्यका लागि प्रस्तावित गरेका छौँ । त्यो पद मन्त्रिपरिषद्ले निर्णय गरेर राष्ट्रपतिद्वारा मनोनीत हुने पद भएकाले सरकार र राष्ट्रपतिद्वारा पनि उहाँलाई राष्ट्रियसभामा नियुक्त गर्ने कुरामा जोड दिन्छौँ ।’

साथै जनमोर्चाले राष्ट्रियसभाको आगामी चुनावमा गठबन्धन पक्षधर सबै उम्मेदवारहरूलाई विजय बनाउन सबै मतदाताहरूसँग अपिल गरेको छ । जनमोर्चाका गण्डकी र लुम्बिनीका केही जिल्लाहरूमा मात्र मतदाताहरू छन् । जनमोर्चाको गण्डकीमा ५७ र लुम्बिनीमा १२९ गरी १८६ मतभार रहेको छ ।

आगामी माघ ११ गते राष्ट्रियसभा सदस्यको रिक्त २० सिट मध्ये १९ सिटमा निर्वाचन हुँदैछ भने एक सिट राष्ट्रपतिबाट मनोनित गरिने छ । फागनु २० गतेदेखि राष्ट्रियसभामा २० जना सांसदको पदावधि सकिन लागेकोले माघ ११ गते निर्वाचन हुन लागेको हो ।