फाइल तस्वीर
काठमाडौं — परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले पञ्चेश्वर परियोजना ब्रेक थ्रुको गर्ने सङ्घारमा पुगेको बताउनुभएको छ । मन्त्री साउदले केही पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अन्तिम चरणमा पुगेकोले अबको केही दिनमै ब्रेक थ्रु हुने बताउनुभएको हो ।

डडेलधुरा पुग्नुभएको मन्त्री साउदले आज शुक्रबार बिहान सञ्चारकर्मीहरुसँग कुरा गर्दै पञ्चेश्वर परियोजना बन्नु सुदूरपश्चिमवासीका लागि मात्रै नभई सिङ्गो मुलुककै लागि ठूलो उपलब्धी हुने बताउनुभयो ।

पञ्चेश्वर परियोजना कार्यान्वयनमा आएपछि रोजगारीमा समेत सहयोग पुग्ने भन्दै मन्त्री साउदले पञ्चेश्वर, पश्चिम सेती, अरुण तेस्रो र अपर कर्णाली विद्युत् परियोजन अगाडि बनाउन सकेमा रोजगारीका लागि विदेशी पर्ने अवस्थाको न्यूनीकरण हुने दावीसमेत गर्नुभयो ।

परराष्ट्रमन्त्री साउदले नेपाल–भारतबीच कालापानी, लिम्पियाधुरा, लिपुलेक र सुस्ता बाहेकका अन्य सीमा क्षेत्रका समस्या समाधान गर्ने कुरामा धेरै सहमति भइसकेको उल्लेख गर्नुहुँदै सीमा विवाद समाधानका लागि दुवै देशको संयुक्त सीमा (जोइन्ट बाउन्ड्री वर्किङ) को काम भइरहेको बताउनुभयो ।

मन्त्री साउदले ‘कालापानी, लिम्पियाधुरा लिपुलेक र सुस्ताबाहेकमा धेरै सहमति भइसकेको छ । यसअघि भएको सीमा नक्सांकन र रेखांकनका बेला केही ठाउँ नेपाल पक्षको भारत र भारततिरको नेपालमा आएको छ । यसमा दुवै देशको संयुक्त सीमाको काम गर्ने टिमले काम गरिरहेको छ । सहमतिका साथ यो काम अघि बढिरहेको छ’ —भन्नुभयो ।

नेपाल सरकार आफ्नो सीमा र देशको स्वामित्व रहने जमिनबारे पूर्णरूपमा सजग रहेको उल्लेख गर्नुहुँदै । सीमा समस्या वार्ता, छलफल र कूटनीतिक पहलबाट टुङ्ग्याउने प्रयास भइरहेको बताउनुभयो ।

पत्रकारहरुसँग कुरा गर्दै मन्त्री साउदले भारतका विदेशमन्त्री एस जयशङ्करको हालैको नेपाल भ्रमण सार्थक, महत्वपूर्ण र फलदायी भएको उल्लेख गर्दैै ‘भारतलाई १० हजार मेघावाट विद्यतु बिक्री गर्ने, पञ्चेश्वर सुरु गर्ने, जाजरकोट भूकम्प पीडितलाई १० अर्ब बराबरको भारतीय अनुदान ल्याउने लगायतका हामीबीच सम्झौता भएका छन्’— भन्नुभयो ।