तस्वीरमा रास्वपाका सभापति लामिछाने र चिनियाँ राजदूत सोङ।


काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ । पार्टी सभापति लामिछाने र चिनियाँ राजदूत सोङबीच बालाजु बनस्थलीस्थित रास्वपा पार्टी कार्यालयमा भेटवार्ता भएको हो ।

चिनियाँ राजदूतसँगको भेटका अवसरमा रास्वपा सभापतिले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको स्तरोन्नतिमा भइरहेको विलम्ब र अहिले यात्रा क्रममा नागरिकले खेप्नु परेको सास्तीका बारेमा छलफल भएको बताइएको छ । रास्वपाले उक्त सडक खण्डका बारेमा सरकारको ध्यानाकर्षण गराउने भएको छ । रास्वपाले उक्त सडकखण्डको यात्रा गरेको थियो ।

चिनियाँ ठेकेदार कम्पनीले उक्त सडकको स्तरोन्नतिको जिम्मा लिएको हो । उक्त सडक निर्माणमा ढिलाइ हुनुको विविध कारणबारे छलफल भएको छ । थप ढिलाइ नहुन चालिनु पर्ने कदम र निर्वाह गरिनुपर्ने भूमिकाबारे विस्तृत कुराकानी भएको सभापति लामिछानेको सचिवालयले जनाएको छ । आयोजना छिटो सम्पन्न गर्न आफ्नो तर्फबाट आवश्यक पहल गर्ने राजदूत सोङले प्रतिबद्धता जनाउनुभयो ।