फाइल तस्वीर


काठमाडौँ — अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछाने पुनरावेदनका लागि उच्च अदालत जानेभएका छन् । सन्दीपलाई काठमाडौं जिल्ला अदालतले बलात्कारको आरोपमा आठ वर्ष जेल सजाय सुनाएपछि उनी उच्च अदालत जान लागेका हुन् ।

जिल्ला अदालत काठमाडौँले सन्दीपलाई बलात्कारको आरोपमा बुधबार आठ वर्षको जेल सजाय सुनाइसकेको थियो । पुनरावेदन गर्ने सन्दीपको अधिकार भएकाले उनी अझै चार महिना जेल जानु नपर्ने बताइएको छ । जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले ‘जेल सजाय तोकिए पनि सन्दीप तत्काल पक्राउ पर्दैनन् । उनलाई अझै कम्तीमा चार महिना पक्राउ गर्न मिल्दैन’— भन्नुभयो ।

जिल्ला अदालतले फैसलाको पूर्णपाठ तयार पारेपछि सन्दीपले पुनरावेदन गर्न ७० दिनको म्याद पाउनेछन् । सन्दीपले यस बाहेक थप ३० दिन अर्को समय पाउने छन् । सन्दीपविरुद्धको फैसलाको पूर्ण पाठ आइसकेको छैन । सन्दीपले थुनाबाहिरै रहेर पुनरावेदन गर्न पाउने कानुनी व्यवस्था छ । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३७ को २ अनुसार १० वर्षसम्म कैद सजाय पाएका व्यक्तिले थुनाबाहिरै बसेर पुनरावेदन गर्ने अनुमति पाउँछ ।