तस्वीरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा ।


काठमाडौँ — सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले रेडियो नेपाल तथा स्रष्टा र सर्जकहरू बीचको समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभएको छ । सिंहदरबारस्थित रेडियो नेपालमा आज बुधबार आयोजित ‘गीतसङ्गीत र रेडियो नेपाल’ विषयक स्रष्टाहरूसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले रेडियो नेपाल र राज्यको तर्फबाट हुनुपर्ने स्रष्टा र सर्जकप्रतिको जिम्मेवारी तथा सम्मानमा कुनै कमी नहुने बताउनुभएको हो ।

मन्त्री शर्माले गीतसङ्गीत र सञ्चार क्षेत्रमा रेडियो नेपालको भूमिका महत्वपूर्ण रहेको तर पछिल्लो समय सञ्चार क्षेत्रको विकास अनुरुप रेडियो नेपालले आफूलाई परिष्कृत गर्दै र जनमुखी बन्दै जानु पर्नेमा जोड दिनुहुँदै रेडियो नेपाल र गीतसङ्गीतबीच देखिएका समस्यालाई समाधान गर्न कानुनी तथा व्यवहारिक बाधाहरू फुकाउने कार्यमा सरकार सदैव सकारात्मक रहेको बताउनुभयो ।

उक्त अन्तरक्रिया कार्यक्रममा सहभागी कलाकारहरूले रेडियो नेपाल गीतसङ्गीत क्षेत्रका लागि सबैको साझा मञ्चका रुपमा रहेको भन्दै स्रष्टा र सर्जकका सृजनालाई आधुनिकतम तरिकाले रेडियो नेपालले संरक्षण, सम्वद्र्धन गरोस् भन्ने आफूहरूले चाहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले स्रष्टाप्रतिको सम्मानका लागि रेडियो नेपाल सदैव तत्पर रहेको र गीतसङ्गीतलाई डिजिटिलाईजेसन गरी त्यसको संरक्षणमा जुटिरहेको जानकारी दिनुभयो । बदलिँदो परिस्थिति अनुसार रेडियो नेपालले आफूलाई परिमार्जन गर्दै श्रोता र जनताका माग अनुरुप प्रशारणमा विस्तार गर्दै आएको बताउनुभएको थियो ।