फाइल तस्वीर
कैलाली —कैलालीको धनगढी उपमहानगरपालिका भित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न काठमाडौँ विश्वविद्यालयसँग सम्झौता भएको छ ।
नगरप्रमुख गोपाल हमाललले सम्झौतापत्रमा गुणस्तरीय तथा समावेशी शिक्षाका लागि पाँच वर्षमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उल्लेख गरिएको बताउनुभयो ।
आवश्यकता पहिचानका आधारमा आगामी पाँच वर्षका लागि कार्यक्रमको कार्ययोजना तयार गरी लागू गरिने जनाइएको छ । कार्यक्रमलाई पहिलो वर्षमा पाँचवटा विद्यालय छनोट गरी कार्यक्रम कार्यान्वयन गरिने र सम्झौता अवधिभरमा उपमहानगरपालिकाका सबै विद्यालयमा कार्यान्वयन गरिने सम्झौतापत्रमा उल्लेख छ ।
काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेशनले सिपीइसी युनिटमार्फत कार्यक्रमलाई कार्यान्वयन गर्नेछ । कार्यक्रमको सुरुआतमा सिपीइसी युनिटले धनगढी उपमहानगरपालिकाअन्तर्गतका विद्यालयमा अध्ययन गरी आवश्यकता पहिचान गर्ने छ । उक्त सम्झौतापत्रमा काठमाडौँ विश्वविद्यालयका तर्फबाट स्कुल अफ एजुकेशनका डीन प्रा डा बालचन्द्र लुइँटेल र धनगढी उपमहानगरपालिकाका तर्फबाट नगरप्रमुख हमालले हस्ताक्षर गर्नुभएको हो ।
सम्झौता हस्ताक्षर कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापा, स्कुल अफ आर्टस्का डीन इकुमाया पुनलगायत स्कुल अफ एजुकेशनका विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो ।