काठमाडौँ — हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ भने तराईका अधिकांश भू–भागहरूमा हुस्सु लागेको छ ।
आज बुधबार दिउँसो पनि कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहने छ भने राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुनेछ ।

आज तीन प्रदेशमा मौसम बदली भएपनि कतै वर्षा र हिमपात हुने सम्भावना भने कतै नदेखिएको महाशाखाले जनाएको छ ।

भोलि कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तराई मधेशका अधिकांश भू–भागमा हुस्सु र कुहिरो लाग्दा चिसो बढेको छ भने हुस्सु र कुहिरोले जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई सेवामासमेत प्रभाव पर्न हुँदा त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।