फाइल तस्वीर


काठमाडौँ — राष्ट्रियसभा सदस्यका लागि हिजो मनोनयन दर्ता गराएका उम्मेदवारहरुविरुद्ध दावीविरोध सम्बन्धी उजुरी हाल्न सकिनेछ । निर्वाचन आयोगले पहिले नै सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार हिजो पुष २३ गते सोमबार राष्ट्रियसभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरु विरुद्ध आज दावीविरोध र उजुरी गर्न सकिने भएको हो ।

आगामी फागुन २० गतेदेखि एक मनोनीत र १९ जना निर्वाचित गरी राष्ट्रियसभा सदस्य पद रिक्त हुँदैछ । उनीहरुको पद रिक्त हुने भएकाले ती पदमा पूर्ति गर्नका लागि माघ ११ गते देशका सबै सात वटै प्रदेशमा निर्वाचन हुँदैछ । माघ दोस्रो साता हुने उक्त निर्वाचनका लागि ५२ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार उनीहरूविरुद्ध परेको उजुरीको भोली बुधबार र पर्सी बिहीबार जाँचबुझ गरी उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।

उम्मेदवारी दर्ता गराएका उम्मेदवारी पुसको २७ गते नाम फिर्ता लिन चाहेमा नाम फिर्ता लिन सकिने छ । त्यसपछि आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ ।

राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारलाई अन्तिम नामावली प्रकाशित भएपछि पुस २८ गते निर्वाचन चिह्न प्रदान गरिने छ । यस निर्वाचनमा सात प्रदेशमा एक÷एक मतदानस्थल र दुई÷दुई मतदान केन्द्र कायम गरिएको छ ।

राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ११ गते बिहीबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने कार्यतालिका छ । यस निर्वाचनमा विभिन्न प्रदेश र क्षेत्रबाट महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र अन्य समुदायबाट सदस्य निर्वाचित हुनेछ ।