फाइल तस्वीरः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ।


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो घोषणा अनुसार सरकारको नीति, कार्यक्रम र बजेटको परम्परागत ढाँचामा व्यापक रूपान्तरणका लागि छलफल गर्नुभएको छ । प्रधानमन्त्रीले आज दिउँसो सरकारको नीति कार्यक्रम र बजेटमा व्यापक रूपान्तरण गर्न त्यसको नीति र कार्यतालिकामा परिमार्जन गर्नेगरि बैठक बोलाएर छलफल गर्नुभएको हो ।

अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगका पदाधिकारीहरुको संयुक्त बैठक राखेर प्रधानमन्त्री प्रचण्डले बजेटको मन्त्रालयगत सिलिङ तोक्दा मन्त्रालयहरूबीच व्यापक छलफल जरूरी भएको बताउँदै सिलिङ तोक्ने प्रक्रियाबारे नै छुट्टै छलफल आवश्यक रहेको बताउनुभएको छ ।

छलफलमा बोल्दै प्रधानमन्त्रीले ‘सिलिङ तोक्दा अनुमान र हचुवाको भरमा नतोकौं, मन्त्रालयहरूलाई पनि बोलाएर छलफल गरौं, उनीहरूको कुरा पनि सुनौं । यो लोकतान्त्रिक प्रक्रिया पनि हो’ भन्नुहुँदै ‘कुनस्तरका योजना केन्द्रमा राख्ने, कुन प्रदेश र स्थानीय तहमा पठाउने भन्नेबारे पनि प्रष्ट खाका चाहिन्छ, त्यसका लागि पनि आवश्यक तयारी गर्नुहोस्’— भन्नुभयो ।

प्रधानमन्त्रीले अनावश्यक नयाँ योजना नथप्ने, अधुरा पूराना योजनालाई उच्च प्राथमिकता दिने र प्रत्येक आर्थिक वर्षमा खास कुनै रणनीतिक योजनामा केन्द्रित हुनेगरि नीति, कार्यक्रम र बजेटको तयारी गर्न अर्थ मन्त्रालय र योजना आयोगलाई पनि निर्देशन दिनुभएको छ ।

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले नीति, कार्यक्रम र बजेटमा नयाँपन ल्याउन प्रधानमन्त्रीको सोच महत्वपूर्ण भएको बताउँदै प्रधानमन्त्रीको निर्देशन र सरकारको निर्णयबमोजिम मन्त्रालयले आवश्यक काम अगाडि बढाउने प्रतिवद्धता जनाउनुभएको छ ।

छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले फागुनमा बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने, वैशाखमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र जेठ १५ मा बजेट प्रस्तुत गर्नेगरी राष्ट्रिय योजना आयोगले नीति, कार्यक्रम र बजेटको प्रस्तावित कार्यतालिका निर्माण गरेको बताउनुभयो ।