फाइल तस्वीर

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले रिक्त उपकुलपति नियुक्तिका लागि पुनः दरखास्त आह्वान गरेको छ । त्रिविले आज सोमबार नयाँ सूचना जारी गर्दै उपकुलपति नियुक्तिका लागि पुनः दरखास्त आह्वान गरेको हो ।


उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको हिजो आइतबार बसेको बैठकले उपकुलपति छनोटसम्बन्धी कार्यविधि परिमार्जन गरेपछि पुनःदरखास्त आह्वान गर्ने निर्णय गरेको हो ।


समितिले यसअघि पहिलो पटक पुस २० गते सार्वजनिक सूचनामार्फत उपकुलपतिमा नियुक्तिका लागि योग्य व्यक्तिबाट दरखास्त आह्वान गरेको थियो । उक्त सूचनामा उपकुलपतिका लागि दरखास्त दिने व्यक्तिका लागि विभिन्न छ वटा मापदण्ड तोकिएको थियो ।


गत शुक्रबार त्रिविले दरखास्त आह्वान गरेकोमा प्रावधानबारे विवाद भएपछि आइतबार रद्द भएको सूचना जारी भएको थियो । विवादभएपछि कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै तत्काल सच्याएर अर्को सूचना निकाल्न निर्देशन दिनुभएको थियो । त्यसपछि सच्याएर आज सोमबार त्रिविले नयाँ सूचना जारी गरेको हो ।

विश्वविद्यालयको पदाधिकारीमा न्यूनतम तीन वर्ष काम गरेको बेहोरा खुलाउनुपर्ने विषयसमेत समेटिएपछि प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उक्त व्यवस्था संशोधन गर्न निर्देशन दिनुभएको थियो । उहाँको निर्देशनपछि समितिले पुस २० गतेको सूचना रद्द गरिएको सूचना आइतबारनै अर्को बैठक बसेर समितिले दोस्रो पटक दरखास्त आह्वान गरेको हो । कस्ता व्यक्तिले उपकुलपतिका लागि दरखास्त दिन पाउने छन् भन्ने विषयमा समितिले सूचनामा केही पनि खुलाएको छैन तर उपकुलपतिका लागि इच्छुक व्यक्तिले ‘त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८०’ बमोजिम दरखास्त दिन भनिएको छ ।

कार्यविधिमा उल्लिखित कागजातसहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ ।