फाइल तस्वीर


काठमाडौँ — राष्ट्रियसभा निर्वाचनका लागि नेकपा (एमाले) ले १९ वटै सिटमा उम्मेदवारको टुङ्गो लगाएको छ । एमालेको २६ औँ सचिवालय बैठकले उम्मेदवारीको अन्तिम टुङ्गो लगाउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई पछि उम्मेदवारको नाम टुङ्ग्याएको हो ।

यद्यपि एमालेले आधिकारीक रुपमा उम्मेदवारको नाम सार्वजनिक गरेको छैन । उम्मेदवारहरुको नाम अन्तिम पटक रुजुगरेर आजै सार्वजनिक हुने बनाइएको छ ।

आगामी माघ ११ गते रिक्त राष्ट्रियसभा सदस्यको लागि सात वटै प्रदेशमा निर्वाचन हुँदैछ । फागुन २० गतेदेखि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सांसदहरुको पदावधि सकिंदै छ ।

एमालेले राष्ट्रियसभा सदस्यका लागि बागमतीमा महिलातर्फ दोलखाकी रोचकुमारी चौलागाईं, दलिततर्फ धादिङका ध्रुवराज विश्वकर्मालाई एमालेले उम्मेदवार बनाएको छ भने अपाङ्गतातर्फ विवेक देवकोटा उम्मेदवार बन्ने भएका छन् । यस्तै अन्य क्लस्टरबाट चितवनका त्रिलोचन निर्मल पौडेल उम्मेदवार बन्ने निश्चित प्राय छ ।

यसैगरी कर्णालीमा अन्य क्लस्टरबाट मुगुका डिल्लीराज भट्टलाई उम्मेदवार बनाइने भएको छ भने दलिततर्फ दैलेखका हिक्मत विश्वकर्मा र महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही उम्मेदवार बनाइने भएको स्रोतको भनाइ छ ।

गण्डकी प्रदेशमा अन्य क्लस्टरबाट स्याङ्जाका चक्रबहादुर पराजुली उम्मेदवार बनाइने भएको छ भने गण्डकीकै अपाङ्गता÷अल्पसङ्ख्यक निर्वाचन क्षेत्रबाट मुस्ताङका हेमन्त शेरचन र महिलातर्फ गोरखाकी सम्झना देवकोटा उम्मेदवार बन्ने प्रदेश अध्यक्ष नवराज शर्माले बताए।

लुम्बिनी प्रदेशबाट अन्य समूहबाट पाल्पाका झपिन्द्रबहादुर बिसी र महिलातर्फ तुलसाकुमारी केसी उम्मेदवार बनाउने निश्चित गरेको छ भने मधेस प्रदेशबाट महोत्तरीका अर्जुनकुमार सिंह र महिलातर्फ पर्साकी उषा चौधरीलाई उम्मेदवारको रुपमा छानिएको छ । यसैगरी कोशी प्रदेशबाट भोजपुरका परशुराम अधिकारी र महिलातर्फ सुनसरीकी रूक्मिणी कोइराला नाम उम्मेदवारको रुपमा रहेको छ ।