फाइल तस्वीर


काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले राष्ट्रियसभा सदस्यको लागि उम्मेदवार टुङ्गो लगाउने जिम्मा पार्टी अध्यक्षसहित तीन नेतालाई दिएको छ । आज आइतबार बसेको पार्टीको सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपालसहित तीन नेतालाई दिएको हो ।

राष्ट्रियसभा सदस्यको लागि एकीकृत समाजवादीले दुई सिट पाएको छ । उक्त सिटमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा अब पार्टी अध्यक्ष नेपालसहित उपाध्यक्ष राजेन्द्र पाण्ड र महासचिव धनश्याम भुसालले निर्णय गर्नुहुनेभएको छ ।

पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार क्लस्टरका कारण समेत पार्टीको तर्फबाट उम्मेदवार टुङ्ग्याउन ढिलाइ भएको भन्दै अन्य दलसँग पनि परामर्श गरेर पार्टीले आफ्ना उम्मेदवारको नाम टुङ्गो लगाउने भएको छ ।

राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ११ गते हुने निर्वाचन आयोगको कार्यतालिका अनुसार भोली पुष २३ गते सोमबार उम्मेदवारहरुले निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्नुपर्ने छ । सबै राजनीतिक दलहरुले आज साँझसम्म उम्मेदवारको नाम सार्वजनिक गर्नेछन् । सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीले बागमती र कर्णालीमा गरी दुई सिट पाएको छ ।