फाइल तस्वीर


काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही पुस २७ गते शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्नेभएको छ । राप्रपाले तीन सय दुई औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान समारोह आयोजना गर्न लागेको हो ।

उक्त कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक तथा संवैधानिक निकायका प्रतिनिधि, धार्मिक सङ्घ सङ्गठन, उद्योगी, व्यवसायी, विभिन्न पेशाकर्मी, बुद्धिजीवी लगायतलाई निमन्त्रणा गरिएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

प्रवक्ता श्रेष्ठले विभिन्न राज्यलाई एकीकृत गरी आधुनिक नेपाल निर्माणमा योगदान गरेका राष्ट्र निर्माताको सम्मानमा हुने चियापान समारोहमा राष्ट्रपति, प्रधानमन्त्री सहभागी हुनुहुने जानकारी दिनुभयो । सोही दिन सो पार्टी केन्द्रले सिंहदरबारस्थित शालिकमा माल्यार्पण कार्यक्रम गर्नेछ ।

नेता श्रेष्ठका अनुसार पार्टीले सोही दिनलाई राष्ट्रिय एकता दिवसका रुपमा केन्द्र, प्रदेश र स्थानीय तीनै तहमा पृथ्वीनारायण शाहको व्यक्तित्व तथा इतिहास झल्काउने गरी सभा गोष्ठी, शुभकामना आदानप्रदान तथा चियापान समारोह, अन्तक्र्रिया, दिपावलीलगायत कार्यक्रम गरी उत्सवका रुपमा मनाउन पार्टी मातहतका सबैलाई पत्राचार गरिएको छ ।

प्रवक्ता श्रेष्ठका अनुसार सोही दिन ‘पृथ्वीनारायण’ शीर्षकमा कविता लेखन प्रतियोगिताको नतिजा प्रकाशन गरी पहिलोलाई दोस्रो र तेस्रोलाई क्रमशः एक लाख रुपैयाँ, दोस्रोलाई ५० हजार रुपैयाँ र तेस्रोलाई २५ हजार रुपैयाँ तथा सान्त्वना विजेता तीन जनालाई प्रतिव्यक्ति १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । पृथ्वीजयन्ती दिवसका रुपमा देशभर मनाउन पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा मूल समारोह समितिसमेत गठन गरिएको छ ।