फाइल तस्वीर : राष्ट्रिय जनमोर्चाकी नेतृ एवम् पूर्वसांसद् दुर्गा पौडेल ।


काठमाडौँ —सत्ता गठबन्धनको बैठकले राष्ट्रपतिद्वारा राष्ट्रियसभामा मनोनीत गर्ने सदस्यमा राष्ट्रिय जनमोर्चाकी नेतृ एवम् पूर्वसांसद् दुर्गा पौडेललाई सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको सत्ता गठबन्धनको बैठकले नेतृ पौडेललाई राष्ट्रियसभामा लान यस्तो निर्णय गरेको हो ।

आगामी फागुन २० गतेदेखि राष्ट्रियसभा सदस्यमा पदमा २० सिट खाली हुँदैछ । रिक्त हुने सिटमध्ये १९ वटामा माघ ११ गते निर्वाचन हुँदैछ भने एक सिट राष्ट्रपतिबाट मनोनीत गरिनेछ ।

राष्ट्रियसभाको रिक्त सिट बाँडफाटका लागि सत्तारुढ दलहरुको बैठक बस्दै आएको छ । आज आईतबार बिहान बसेको बैठक सिट बाँडफाटको सहमति सन्निकट पुगेको छ । सहमति नजिक पुगेअनुसार काङ्ग्रेसलाई १० सिट, माओवादी केन्द्रलाई छ, एकीकृत समाजवादी दुई र जनता समाजवादी पार्टीलाई एक सिट भागबण्डाको प्रस्ताव गरिएको छ । तर एकीकृत समाजवादीले भने आफ्नो पार्टीले तीन सिट पाउनुपर्ने अडान राख्दैआएको छ । यसले तीन सिट नदिए सरकारमा तीन मन्त्रालय पाउनुपर्ने माग राखेको स्रोतको भनाइ छ ।