तस्वीरमा वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतो ।


काठमाडौँ – वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले नेपालमा जलवायु परिवर्तनसम्बन्धी लगानी ल्याउन नसकिने बताउनुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज शुक्रबार आयोजित संयुक्त राष्ट्र सङ्घको जलवायु परिवर्तन सम्बन्धी २८ औं सम्मेलन (कोप–२८) को समिक्षात्मक बैठकमा बोल्नुहुँदै मन्त्री महतोले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

नेपालमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि आएको बजेट खर्च गर्ने अवस्था आफ्नै मन्त्रालयमा नभएकाले सो सम्बन्धी थप बजेट ल्याउने अवस्था नभएको मन्त्री महतो बताउनुभयो । सो अवसरमा बोल्नुहुँदै मन्त्री महतोले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि लगानी गर्न आफूले आग्रहगर्दा दाताले नेपालमा खर्च गर्नसक्ने क्षमता नै नभएकाले दिन नसकिने जवाफमा दिएको र त्यसले आफूलाई लज्जित बनाएको गुनासो समेत व्यक्त गर्नुभयो ।

मन्त्री महतोले कोप–२८ मा नेपालले जलवायु परिवर्तनका कारण भोग्नुपरेको समस्याबारे विश्वलाई जानकारी गराउन सकेपनि त्यस्तो सहयोग परिचालन गर्न नसकेको गुनासो व्यक्त गर्दै जलवायु परिवर्तनसम्बन्धी बजेट समयमै खर्च गर्न पनि सम्बन्धित मन्त्रालय र निकायहरुलाई सचेत गराउँदै उहाँले बजेट समयमै खर्च गर्न सकेमात्र थप बजेट माग्न सकिने उल्लेख गर्नुभयो ।

उक्त कार्यक्रममा बोल्नुहुँदै मन्त्रालयका सचिव डा. दीपककुमार खरालले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सम्बन्धित मन्त्रालय र सबै पक्षबीच सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यक्ता औंल्याउनु भएको थियो । सचिव खरालले जलवायु परिवर्तनको असर सबै पक्ष, तह र वर्गमा पुगेकाले यसको असर न्युनीकरणमा सबैले समान ढङ्गले चासो दिएर अघि बढ्नुपर्ने कुरामा जोड दिनुभयो ।

सचिव खरालले भन्नुभयो, ‘‘यो जलवायु परिवर्तनको विषय अहिले यति क्रमकटिङ इस्युको रुपमा आएको छ कि समाजको कुनै सेक्टर, कुनै पक्ष, कुनै तह र कुनै वर्ग अछुतो रहेको छैन । यदि यो छैन भनेदेखि यसलाई सम्बोधन गर्न पनि सबै उही रुपमा लाग्नुपर्ने हुन्छ । यो अर्थमा यहाँहरुले जुन सहभागिता जनाउनुपर्ने हो, नेपाल सरकारका सबै निकाय, पक्षहरु, मन्त्रालयहरु यसमा संलग्न हुनु भएको छ । यो कोप २८ मा सहभागी हुनका लागि हामीले प्रधानमन्त्रीज्युको निर्देशन अनुसार काम गरेर यसमा सफलता हासिल गरेका हौं ।’’